काठमाडौं । ग्याब्रिएल मार्टिनेलीले इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतमा ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
ह्युस्टनमा सम्पन्न राउन्ड अफ ३२ को प्रतिस्पर्धामा अन्तिम समयसम्म बराबरीतर्फ उन्मुख खेललाई मार्टिनेलीले ब्राजिलको पक्षमा मोडे। यो जितसँगै ब्राजिलले जुलाई ५ मा न्यूयोर्क–न्युजर्सी स्टेडियममा हुने अन्तिम १६ को खेलमा कोट डी आइभोर (आइभरी कोस्ट) र नर्वेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीको टोलीले खेलको सुरुआतबाटै बल नियन्त्रणमा राख्ने प्रयास गरे पनि पहिलो गोल भने जापानले गर्यो। ब्राजिलको रक्षापंक्तिबाट भएको गल्तीको फाइदा उठाउँदै काइसु सानोले २९औँ मिनेटमा आकर्षक गोल गर्दै जापानलाई अग्रता दिलाए। यो उनको अन्तर्राष्ट्रिय करियरको पहिलो गोल पनि हो।
पहिलो हाफ १–० ले पछि परेको ब्राजिल दोस्रो हाफमा पूर्ण रूपमा आक्रामक बन्यो। खेलको ५६औँ मिनेटमा ग्याब्रिएल मागाल्हासको उत्कृष्ट क्रसलाई क्यासेमिरोले हेडमार्फत जाली चुमाउँदै खेललाई १–१ को बराबरीमा ल्याए।
त्यसपछि ब्राजिलले लगातार गोलका अवसर सिर्जना गर्यो। भिनिसियस जुनियरको शक्तिशाली प्रहारलाई जापानका गोलरक्षक जायन सुजुकीले उत्कृष्ट बचाउ गर्दै पोस्टमा डाइभर्ट गरेपछि ब्राजिल तत्काल अग्रता लिनबाट वञ्चित भयो।
खेल अतिरिक्त समयमा पुग्ने निश्चितजस्तै देखिँदा इन्जुरी समयको पाँचौँ मिनेटमा ब्रुनो गुइमारेसले दिएको सटिक पासलाई ग्याब्रिएल मार्टिनेलीले उत्कृष्ट फिनिसिङ गर्दै गोलमा परिणत गरे। उनको यही गोल ब्राजिलको जितको आधार बन्यो।
यो जितसँगै पाँचपटकको विश्व विजेता ब्राजिलले उपाधि यात्रालाई निरन्तरता दिएको छ। कठिन चुनौती पेस गरेको जापान भने अन्तिम समयमा गोल खाँदै प्रतियोगिताबाट बाहिरिएको छ।


