काठमाडौं । पाराग्वेले चार पटकको विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो, जहाँ पाराग्वेले धैर्य र उत्कृष्ट गोलकिपिङको प्रदर्शन गर्दै ऐतिहासिक जित हात पार्यो।
मुख्य प्रशिक्षक गुस्ताभो अल्फारोको टोलीले सुरुदेखि नै अनुशासित रक्षात्मक रणनीति अपनायो। जर्मनीले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि पाराग्वेको रक्षापंक्ति र गोलरक्षक ओर्लान्डो गिललाई भेद्न सकेन।
खेलको पहिलो हाफमा लेरोय साने, फ्लोरियन विर्ट्ज र काइ हाभर्ट्जले गोलका केही राम्रो अवसर सिर्जना गरेका थिए। तर गिलको उत्कृष्ट बचाउ र डिफेन्डरहरूको सशक्त प्रदर्शनले जर्मनीलाई निराश बनायो।
पहिलो हाफको अन्त्यतिर भने पाराग्वेले खेलमा अग्रता लियो। कर्नरबाट आएको बललाई जर्मनीका गोलरक्षक मानुएल नोयरले पञ्च गरेर बाहिर निकाले पनि माथियास गालार्जाले पुनः उत्कृष्ट क्रस उपलब्ध गराए। त्यसलाई जुलियो एन्सिसोले फ्रि–हेडमार्फत जाली चुमाउँदै पाराग्वेलाई १–० को अग्रता दिलाए।
दोस्रो हाफमा जर्मनीले दबाब बढायो र ५४औँ मिनेटमा बराबरी गोल फर्कायो। फ्लोरियन विर्ट्जको सटिक क्रसलाई काइ हाभर्ट्जले हेडमार्फत गोलमा परिणत गर्दै खेल १–१ को अवस्थामा पुर्याए।
त्यसपछि जर्मनीले लगातार आक्रमण गरे पनि पाराग्वेको रक्षापंक्तिले उत्कृष्ट संयम देखायो। प्रशिक्षक युलियन नागेल्समानले थप आक्रामक खेलाडी मैदानमा उतारे पनि टोलीले निर्णायक गोल निकाल्न सकेन।
एक चरणमा जोनाथन टाहले जर्मनीका लागि गोल गरे पनि बल प्रहार हुनुअघि वाल्डेमार एन्टोनले गोलरक्षक ओर्लान्डो गिलमाथि फाउल गरेको भन्दै रेफ्रीले गोललाई मान्यता दिएनन्।
पेनाल्टी सुटआउटमा जर्मनीको सुरुआत नै खराब रह्यो। काइ हाभर्ट्जको पहिलो प्रहार पाराग्वेका गोलरक्षक गिलले शानदार रूपमा बचाए। त्यसपछि दुवै टोलीबाट केही प्रहार असफल भए पनि अन्तिम निर्णायक पेनाल्टीमा होसे कानालेसले कुनै गल्ती नगरी गोल गर्दै पाराग्वेलाई ४–३ को ऐतिहासिक जित दिलाए।
यस जितसँगै पाराग्वेले विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ। अब उसले जुलाई ४ मा फिलाडेल्फियामा हुने खेलमा फ्रान्स र स्वीडेनबीचको विजेतासँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।


