काठमाडौं । निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘कंगाल करोडपति’मा अभिनेत्री सलिना तामाङ मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। यस चलचित्रमा उनले अभिनेता मुकुन भुसालसँग पहिलो पटक स्क्रिन साझेदारी गर्नेछिन्।
यसै चलचित्रमार्फत सलिनाले नेपाली रजतपटमा डेब्यु गर्न लागेकी हुन्। निर्माण टिमका अनुसार उनीसँग यसै महिना औपचारिक सम्झौता सम्पन्न भएको हो।
चलचित्रमा आबद्ध भएपछि सलिनाले आफ्नो पहिलो फिल्मका रूपमा ‘कंगाल करोडपति’ रोज्न पाउँदा निकै उत्साहित रहेको बताइन्।
उनले भनिन्, “यो चलचित्रमार्फत दर्शकमाझ प्रस्तुत हुन पाउँदा निकै खुसी छु। मेरो अभिनय र चलचित्रलाई दर्शकले माया र साथ दिनुहुनेछ भन्ने विश्वास लिएकी छु।”
सलिनाले भारतको मुम्बईस्थित द एक्टर्स ट्रुथबाट अभिनय प्रशिक्षण लिएकी हुन्। उनले बलिउड अभिनेता तथा अभिनय प्रशिक्षक सौरभ सचदेवासँग अभिनय सिकेकी छन्। सौरभ ‘एनिमल’ लगायतका चर्चित हिन्दी चलचित्रमा अभिनय गरिसकेका कलाकार हुन्।
सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रका प्रस्तुतकर्ता प्रविन आचार्य हुन् भने निर्माता अनिलकुमार बुढाथोकी रहेका छन्। सह–निर्मातामा छिरिङ तामाङ, प्रविन राई र प्रवेश सापकोटा आबद्ध छन्। रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरको भूमिकामा छन्।
चलचित्रको कथा सुमन गजमेरले लेखेका हुन्। निर्माण टिमका अनुसार केही कलाकारको छनोट भइसकेको छ भने बाँकी पात्रका लागि चाँडै अडिसन खुला गरिनेछ।


