काठमाडौं । स्टार फरवार्ड अर्लिङ हालान्डको अन्तिम समयमा आएको निर्णायक गोलको मद्दतमा नर्वेले इभोरी कोस्टलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
राउन्ड अफ ३२ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा नर्वेका लागि एन्टोनियो नुसा र अर्लिङ हालान्डले गोल गरे भने इभोरी कोस्टका अमाद डियालोले एक गोल फर्काएका थिए।
यो जितसँगै नर्वे सन् १९९८ पछि पहिलो पटक विश्वकपको नकआउट चरण पार गर्दै अन्तिम १६ मा पुगेको हो।
खेलको सुरुआतमा इभोरी कोस्टले आक्रामक खेल प्रदर्शन गर्दै नर्वेमाथि दबाब बनाएको थियो। ३०औँ मिनेटमा यान डियोमन्डेको क्रसमा निकोलस पेपेले गोल गर्ने सुनौलो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्।
यसको नौ मिनेटपछि भने नर्वेले अग्रता बनायो। ३९औँ मिनेटमा बायाँ विङ्गर एन्टोनियो नुसाले व्यक्तिगत कौशल प्रदर्शन गर्दै पेनाल्टी क्षेत्रबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भयो। जारी विश्वकपमा नुसाको यो पहिलो गोल हो।
पहिलो हाफको अन्त्यतिर अलेक्ज्याण्डर सोर्लोथको पासमा हालान्डले अर्को अवसर सिर्जना गरेका थिए। तर इभोरी कोस्टका इब्राहिम सङ्गारेले उत्कृष्ट ब्लक गर्दै टोलीलाई थप क्षतिबाट जोगाए।
दोस्रो हाफमा इभोरी कोस्टले खेलमा फर्कने प्रयासलाई तीव्र बनायो। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका अमाद डियालोले टोलीको आक्रमणलाई नयाँ गति दिए। ७४औँ मिनेटमा निकोलस पेपेसँग आकर्षक ‘गिभ एन्ड गो’ खेल्दै उनले दुई डिफेन्डरलाई छक्याएर उत्कृष्ट गोल गरे र खेललाई १–१ को बराबरीमा ल्याए।
खेल अतिरिक्त समयतर्फ उन्मुख देखिइरहेका बेला नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्डले आफ्नो क्लास देखाए। ८६औँ मिनेटमा प्याट्रिक बर्गको लो–क्रसलाई नजिकैबाट जाली चुमाउँदै उनले नर्वेलाई २–१ को निर्णायक अग्रता दिलाए।
यो गोलसँगै हालान्डले जारी विश्वकपमा पाँचौँ गोल पूरा गरेका छन्। नर्वेका लागि उनको अन्तर्राष्ट्रिय गोल संख्या ६० पुगेको छ। पहिलो विश्वकप खेलिरहेका हालान्डले प्रतियोगिताको हरेक खेलमा गोल गर्ने कीर्तिमान पनि कायम राखेका छन्।
इन्जुरी समयतिर इभोरी कोस्टले बराबरी गोलका लागि अन्तिम प्रयास गर्यो। अमाद डियालोको उत्कृष्ट फ्रि–किकलाई नर्वेका गोलरक्षक ओर्यान निल्यान्डले शानदार बचाउ गर्दै टोलीको जित सुरक्षित गरे।
यो ऐतिहासिक जितसँगै प्रशिक्षक स्टोले सोल्बाकेनको नेतृत्वमा रहेको नर्वेले अब जुलाई ५ मा न्यूयोर्क–न्युजर्सीमा हुने अन्तिम १६ को खेलमा पाँच पटकको विश्वविजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।



