काठमाडौं । कप्तान केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा साविक विजेता फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा स्वीडेनलाई ३–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
न्यूयोर्क–न्युजर्सी स्टेडियममा सम्पन्न एकपक्षीय खेलमा एम्बाप्पेले दुई गोल गरे भने ब्राडली बारकोलाले एक गोल थपे। यो जितसँगै फ्रान्सले जारी विश्वकपमा आफ्नो अपराजित यात्रालाई पनि निरन्तरता दिएको छ।
समूह चरणदेखि नै उत्कृष्ट लयमा रहेको फ्रान्सले खेलको सुरुआतदेखि स्वीडेनमाथि दबाब कायम राखेको थियो। पहिलो हाफमै फ्रान्सले १५ पटक गोलको प्रयास गरेको थियो।
एम्बाप्पेको सुरुआती गोल अफसाइडका कारण रद्द भएको थियो भने अर्को प्रहार पोस्टमा लागेर फर्किएको थियो। त्यस्तै, माइकल ओलिसको आकर्षक ओभरहेड किक पनि गोलपोस्टमा लाग्दै गोल हुनबाट रोकिएको थियो।

लगातारको आक्रमणपछि पहिलो हाफको अन्तिम मिनेटमा फ्रान्सले अग्रता बनायो। छोटो कर्नरबाट आएको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले डिफेन्डरहरूलाई छलाएर सटिक प्रहारमार्फत टोलीलाई १–० को अग्रता दिलाए।
दोस्रो हाफमा पनि फ्रान्सको आक्रमण जारी रह्यो। ५३औँ मिनेटमा माइकल ओलिसको उत्कृष्ट पासमा ब्राडली बारकोलाले सहज फिनिसिङ गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए।
त्यसपछि ओलिसकै अर्को आकर्षक असिस्टमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको ३–० को सहज जित सुनिश्चित गरे। स्वीडेनका गोलरक्षक ज्याकब विडेल जेटेरस्ट्रोमले जुल्स कुन्डे र ओलिसका केही उत्कृष्ट प्रहार बचाउँदै गोल अन्तर अझ फराकिलो हुनबाट जोगाएका थिए।
यस खेलमा दुई गोल थपेसँगै एम्बाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। उनको विश्वकप गोल संख्या १८ पुगेको छ, जसमा जारी संस्करणमा मात्रै उनले ६ गोल गरेका छन्। उनले जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानलाई पछि पारिसकेका छन्।
अब एम्बाप्पे सर्वाधिक १९ विश्वकप गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको कीर्तिमानभन्दा केवल एक गोलले मात्र पछाडि छन्।फ्रान्सले अब जुलाई ४ मा फिलाडेल्फियामा पाराग्वेसँग क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।



