काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको रोमाञ्चक खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
क्यानडाको टोरन्टो स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेका थिएनन्।
दोस्रो हाफको ५३औँ मिनेटमा क्रोएसियाका अनुभवी विंगर इभान पेरिसिकले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए।
एक गोलले पछि परेको पोर्चुगलले लगातार आक्रमण गर्दै खेलमा फर्कने प्रयास गर्यो। त्यसको फलस्वरूप ६८औँ मिनेटमा पोर्चुगलले पेनाल्टीको अवसर पायो। कप्तान क्रिस्टियानो रोनाल्डोले सहज रूपमा पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए। विश्वकप नकआउट चरणमा रोनाल्डोको यो पहिलो गोल पनि हो।
खेल अतिरिक्त समयमा पुग्ने निश्चितजस्तै देखिएका बेला इन्जुरी समयको चौथो मिनेट (९०+४) मा वैकल्पिक खेलाडी गोन्सालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई २–१ को रोमाञ्चक जित दिलाए।
यद्यपि, इन्जुरी समयकै ९०+१२औँ मिनेटमा क्रोएसियाले गरेको गोल अफसाइड ठहरिएपछि पोर्चुगलको जित सुनिश्चित भयो।
यस जितसँगै पोर्चुगलले विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ। अब क्वाटरफाइनल प्रवेशका लागि उसले बलियो प्रतिद्वन्द्वी स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।



