काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत भएको खेलमा स्विट्जरल्याण्डले अल्जेरियालाई २–० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) मा स्थान सुरक्षित गरेको छ।
आज बिहान सम्पन्न खेल नम्बर ८५ मा स्विट्जरल्याण्डले सुरुदेखि नै खेलमाथि नियन्त्रण कायम राख्दै प्रभावशाली प्रदर्शन गर्यो। टोलीका स्टार स्ट्राइकर ब्रील एम्बोलोले खेलको १०औँ मिनेटमै गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए।
पहिलो हाफ १–० को अग्रतासहित टुंग्याएको स्विट्जरल्याण्डले दोस्रो हाफको सुरुमै आफ्नो पकड थप बलियो बनायो। खेलको ४६औँ मिनेटमा ड्यान एनडोएले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता २–० पुर्याए।
दुई गोलले पछि परेको अल्जेरियाले खेलमा फर्कने प्रयास गर्दै केही अवसर सिर्जना गरे पनि स्विट्जरल्याण्डको सुदृढ रक्षापंक्ति र गोलकिपरलाई छल्न सकेन।
यस हारसँगै अल्जेरियाको विश्वकप यात्रा राउन्ड अफ ३२ बाटै समाप्त भएको छ। यता, विजयी स्विट्जरल्याण्डले क्वाटरफाइनल प्रवेशका लागि कोलम्बिया र घानाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।



