काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत भएको रोमाञ्चक खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। योसँगै इजिप्टले विश्वकप इतिहासमा पहिलो पटक नकआउट चरणको खेल जित्दै नयाँ इतिहास रचेको हो।
डलासमा सम्पन्न खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लागेको थियो।
खेलको सुरुवातमै अस्ट्रेलियाले अग्रता लिने अवसर पाए पनि क्रिस्टियन भोल्पाटोको प्रहार क्रसबारमा लागेर फर्कियो। त्यसपछि इजिप्टले १३औँ मिनेटमा अग्रता बनायो। करिम हाफेजको सटिक क्रसमा इमाम आशुरले हेडमार्फत गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। जारी विश्वकपमा आशुरको यो दोस्रो गोल हो।
दोस्रो हाफको सुरुमै ओमार मार्मुशले अग्रता दोब्बर बनाउने अवसर गुमाए। त्यसको केहीबेरपछि ५५औँ मिनेटमा अस्ट्रेलियाले बराबरी गोल फर्कायो। एडन ओ’निलको फ्रिकिक क्लियर गर्ने क्रममा इजिप्टका डिफेन्डर मोहम्मद हानीबाट आत्मघाती गोल भएपछि खेल १–१ को बराबरीमा पुगेको थियो। प्रतियोगितामा हानीको यो दोस्रो आत्मघाती गोल हो।
खेलको अन्तिम समयमा कप्तान मोहम्मद सलाहको क्रसमा रामी राबियाले गरेको हेड प्रहारलाई अस्ट्रेलियाका गोलकिपर प्याट्रिक बीचले शानदार बचाउ गर्दै खेललाई अतिरिक्त समयमा पुर्याएका थिए।
पेनाल्टी सुटआउटअघि अस्ट्रेलियाका प्रशिक्षक टोनी पोपोभिचले गोलकिपर परिवर्तन गर्दै प्याट्रिक बीचको स्थानमा अनुभवी म्याट रायनलाई मैदानमा उतारे पनि त्यसले टोलीलाई बचाउन सकेन।
इजिप्टका तर्फबाट कप्तान मोहम्मद सलाहसहित सबै पेनाल्टी प्रहार सफल भए। यता, अस्ट्रेलियाका ह्यारी सुट्टार र लुकास हेरिङ्टन पेनाल्टीमा चुकेपछि होसाम अब्देलमागुइदले निर्णायक पेनाल्टी गोल गर्दै इजिप्टलाई ऐतिहासिक जित दिलाए।
होसाम हसनको प्रशिक्षणमा रहेको इजिप्टले प्रतियोगितामा आफ्नो अपराजित यात्रा पनि कायम राखेको छ। अब इजिप्टले जुलाई ७ मा एटलान्टामा हुने अन्तिम १६ को खेलमा अर्जेन्टिना र केप भर्डेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।



