काठमाडौं । ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएलगत्तै उनले राष्ट्रिय टोलीबाट बिदा लिने निर्णय सार्वजनिक गरेका हुन्।
न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार राति सम्पन्न खेलपछि अन्तिम सिट्टी बज्नासाथ ३४ वर्षीय नेयमार भावुक बनेका थिए। मैदानमै आँसु झारेका उनलाई सहकर्मी खेलाडीहरूले सम्हालेका थिए।
पाँच पटकको विश्वविजेता ब्राजिल सन् १९९० पछि पहिलो पटक विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको हो। उक्त खेलमा नर्वेका एर्लिङ हालान्डले दुई गोल गरे भने नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत ब्राजिलका लागि सान्त्वना गोल फर्काएका थिए।
संन्यास घोषणा गर्दै नेयमारले भने, “मैले सक्दो प्रयास गरेँ, धेरै संघर्ष गरेँ। तर अब राष्ट्रिय टोलीसँगको मेरो यात्रा यहीँ टुंगिएको छ। मैले यही मैदानबाट सुरुआत गरेको थिएँ र आज यहीँबाट अन्त्य गर्दैछु।”
नेयमारले सन् २०१० को अगस्टमा संयुक्त राज्य अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलबाट मेटलाइफ स्टेडियममै ब्राजिलका लागि डेब्यु गरेका थिए। त्यही खेलमा उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल पनि गरेका थिए।
चोटका कारण पछिल्ला केही वर्ष कठिन बने पनि नेयमारले ब्राजिलका लागि १३० खेल खेल्दै ८० गोल गरेका छन्। उनी महान् पेलेको ७७ गोलको कीर्तिमान तोड्दै ब्राजिलको इतिहासमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका छन्। साथै, पेलेपछि चार फरक विश्वकपमा गोल गर्ने दोस्रो ब्राजिलियन पुरुष खेलाडीको कीर्तिमान पनि उनले आफ्नो नाममा लेखाएका छन्।
ब्राजिलको अप्रत्याशित हारपछि मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले टोली पुनर्निर्माणको संकेत दिएका छन्।
उनले भने, “यो नतिजा निकै निराशाजनक छ र हामी सबै दुःखी छौँ। मलाई लाग्दैन हामी हार्न लायक थियौँ, तर फुटबलमा यस्तै हुन्छ। अब यो हारबाट सिक्दै नयाँ योजनासहित नयाँ चक्र सुरु गर्ने समय आएको छ।”



