काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट दुई गोलको मद्दतमा इंग्ल्याण्डले मेक्सिकोलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
मेक्सिको सिटी स्टेडियममा सम्पन्न रोमाञ्चक अन्तिम १६ को खेलमा इंग्ल्याण्डले एक खेलाडी कम भएर पनि जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो।
यस हारसँगै मेक्सिकोको घरेलु मैदानमा कायम रहेको अपराजित यात्रा पनि अन्त्य भएको छ। यसअघि सो स्टेडियममा मेक्सिकोले आठ खेल जितेको र दुई खेल बराबरी खेलेको थियो।
इंग्ल्याण्डका लागि जुड बेलिंघमले दुई तथा कप्तान ह्यारी केनले एक गोल गरे। बेलिंघमले खेलको ३६औँ मिनेटमा बुकायो साकाको पासलाई सदुपयोग गर्दै पहिलो गोल गरेका थिए। त्यसको दुई मिनेटपछि, ३८औँ मिनेटमा ह्यारी केनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई २–० को बलियो अग्रता दिलाए।
दोस्रो हाफको ५४औँ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई खेलमा फर्काउने प्रयास गरे। सोही मिनेटमा इंग्ल्याण्डका जेरेल क्वान्साह रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो।
एक खेलाडी कम भए पनि इंग्ल्याण्डले ५७औँ मिनेटमा पेनाल्टीको अवसर पायो। मेक्सिकोका गोलकिपर राउल रेन्जेलले एन्थोनी गोर्डनलाई लडाएपछि प्राप्त पेनाल्टीलाई कप्तान ह्यारी केनले ५९औँ मिनेटमा सहजै गोलमा परिणत गर्दै इंग्ल्याण्डको अग्रता ३–१ बनाए। योसँगै केनले जारी विश्वकपमा आफ्नो गोल संख्या ६ पुर्याएका छन्।
खेलको ६७औँ मिनेटमा ह्यारी केनबाट भएको फउलपछि मेक्सिकोले पनि पेनाल्टी पायो। राउल जिमेनेजले त्यसलाई गोलमा परिणत गर्दै अन्तर ३–२ मा झारे पनि त्यसपछि थप गोल हुन सकेन।
अन्ततः इंग्ल्याण्डले ३–२ को जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। अब इंग्ल्याण्डले सेमिफाइनल प्रवेशका लागि ब्राजिललाई पराजित गर्दै इतिहास रचेको नर्वेसँग प्रतिस्पर्धा गर्नेछ।



