काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘अक्षरा’को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। निर्माता सुग्रसेन ढुङ्गानाको जन्मदिनको अवसर पारेर सोमबार पोस्टर सार्वजनिक गरिएको निर्माण टिमले जनाएको छ।
निर्माण पक्षका अनुसार प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रको प्रचारलाई थप प्रभावकारी बनाउने उद्देश्यले दोस्रो पोस्टर सार्वजनिक गरिएको हो।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार सुशील सिटौला र न्यान्सी खड्कालाई केन्द्रमा राखिएको छ। उनीहरूको गम्भीर अभिव्यक्ति र कलात्मक प्रस्तुतीकरणले चलचित्र सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित रहेको संकेत गर्छ।
पोस्टरमा दुवै कलाकार एकअर्काबाट विपरीत दिशातर्फ फर्किएको देखिन्छ। यसले उनीहरूबीचको सम्बन्धमा आएको दूरी, असमझदारी, भावनात्मक द्वन्द्व वा परिस्थितिजन्य बिछोडको कथा प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ। पृष्ठभूमिमा देखिएको भीडले पात्रहरूको व्यक्तिगत जीवनमा समाजको प्रभाव र दबाबलाई पनि प्रतीकात्मक रूपमा चित्रण गरेको छ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रमा सुशील सिटौला र न्यान्सी खड्कासँगै सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको अभिनय रहेको छ। बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना पनि देखिनेछन्।
झन्डै डेढ महिनाको छायांकनमा तयार भएको चलचित्रको प्रस्तुति सोनी थापा (ढुङ्गाना)को रहेको छ भने निर्देशन विनय राज पौडेलले गरेका हुन्। चलचित्रका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन्। कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्।
चलचित्रको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनय राज पौडेलको संयुक्त लेखनमा तयार भएको हो। चलचित्रमा दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ।
नेशनल सिने ग्रुप नेपालमार्फत दीपक दंगालले वितरण गर्ने चलचित्र ‘अक्षरा’ आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।


