काठमाडौं : बेल्जियमले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा घरेलु टोली संयुक्त राज्य अमेरिकालाई ४–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा शानदार प्रवेश गरेको छ।
आज बिहान सम्पन्न खेलमा बेल्जियमका युवा मिडफिल्डर चार्ल्स डे केटेलारेले दुई गोल गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले। बेल्जियमले प्रभावशाली प्रदर्शन गर्दै अमेरिकालाई प्रतियोगिताबाट बाहिर पठायो।
खेलको नवौँ मिनेटमै डे केटेलारेले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। घरेलु समर्थकको साथ पाएको अमेरिकाले भने ३१औँ मिनेटमा म्यालिक टिलम्यानको गोलबाट खेललाई १–१ को बराबरीमा ल्याउँदै पुनरागमनको संकेत गरेको थियो।
तर, अमेरिकाको खुशी धेरैबेर टिकेन। बराबरी गोलको दुई मिनेटपछि नै डे केटेलारेले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः २–१ को अग्रता दिलाए। पहिलो हाफ यही नतिजामा सकिएको थियो।
दोस्रो हाफमा बेल्जियमले आफ्नो दबाब कायम राख्यो। खेलको ५७औँ मिनेटमा हान्स भानाकेनले गोल थप्दै टोलीको अग्रता ३–१ पुर्याए।
निर्धारित समय सकिन लाग्दा इन्जुरी समयको तेस्रो मिनेट (९०+३) मा अनुभवी स्ट्राइकर रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमको ४–१ को प्रभावशाली जित सुनिश्चित गरे।
यो जितसँगै बेल्जियमले क्वार्टरफाइनलमा स्थान बनाएको छ भने आयोजक राष्ट्र अमेरिकाको विश्वकप यात्रा अन्तिम १६ बाटै समाप्त भएको छ।
यससँगै तीनै आयोजक राष्ट्र विश्वकपबाट बाहिरिएका छन्। यसअघि क्यानडा र मेक्सिको पनि नकआउट चरणबाट बाहिरिसकेका थिए।
अब बेल्जियमले क्वार्टरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। उता आज राति अर्जेन्टिना र इजिप्ट तथा कोलम्बिया र स्विट्जरल्याण्डबीच अन्तिम दुई क्वार्टरफाइनल स्थानका लागि प्रतिस्पर्धा हुनेछ।



