काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्तिस्वरूप ११ जिल्लाका किसानलाई करिब ५२ करोड रुपैयाँ एक साताभित्र वितरण गर्ने तयारी गरेको छ।
विभागका अनुसार रोग नियन्त्रण अभियानका क्रममा नष्ट गरिएका पन्छी तथा पन्छीजन्य सामग्रीको प्रमाणित क्षतिको मूल्याङ्कन गरी किसानलाई ७५ प्रतिशत राहत उपलब्ध गराइनेछ। विभागका प्रवक्ता मुकुल उपाध्यायले आवश्यक प्रमाणसहित दाबी गरेका किसानको बैंक खातामा एक साताभित्र रकम पठाइने जानकारी दिए। असार मसान्तसम्म क्षतिपूर्ति प्राप्त गर्न नसकेका किसानलाई भने नयाँ आर्थिक वर्षमा भुक्तानी गरिने उनले बताए।
बर्डफ्लु नियन्त्रण नियमावलीअनुसार राहत वितरण गरिने भएकाले पन्छी तथा पन्छीजन्य सामग्री नष्ट भएको प्रमाणसहित सम्बन्धित जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिन विभागले किसानलाई आग्रह गरेको छ।
बर्डफ्लुका कारण काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्लामा सबैभन्दा बढी असर परेको छ। विभागका अनुसार हालसम्म करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको छ। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
यसैबीच, प्रतिकूल मौसमका कारण यस वर्ष देशभर धान रोपाइँ गत वर्षको तुलनामा १२.६२ प्रतिशतले घटेको कृषि विभागले जनाएको छ। गत वर्ष यही अवधिसम्म ४५ प्रतिशत रोपाइँ सम्पन्न भएकोमा यस वर्ष भने ३२.३८ प्रतिशत मात्र रोपाइँ भएको छ।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार सोमबारसम्म देशभर ४ लाख ४३ हजार ५९५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। कुल रोपाइँयोग्य क्षेत्रफल भने १३ लाख ७० हजार ६२ हेक्टर रहेको छ।
प्रदेशगत रूपमा सुदूरपश्चिममा ५७.९ प्रतिशत, गण्डकीमा ४१ प्रतिशत, कर्णालीमा ४०.५ प्रतिशत, लुम्बिनीमा ३७.३ प्रतिशत, बागमतीमा ३३.२ प्रतिशत, कोशीमा ३१.५ प्रतिशत र मधेस प्रदेशमा १५.६ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ।
महानिर्देशक सञ्जेलका अनुसार जलवायु परिवर्तनको प्रभावका कारण मनसुन समयमै सक्रिय हुन नसक्दा रोपाइँ प्रभावित भएको हो। यद्यपि, देशका अधिकांश स्थानमा वर्षा सुरु भएसँगै आगामी दिनमा रोपाइँको गति बढ्ने अपेक्षा गरिएको छ।
विशेषगरी धान उत्पादनको मुख्य क्षेत्र मानिने मधेस प्रदेशमा रोपाइँ निकै कम भएकाले यस वर्ष कुल धान उत्पादनमा असर पर्ने अनुमान गरिएको छ। नेपालको कुल धान उत्पादनमा मधेस प्रदेशको योगदान करिब ७० प्रतिशत रहेको छ भने बाँकी ३० प्रतिशत उत्पादन पहाडी क्षेत्रबाट हुने गरेको विभागले जनाएको छ।



