काठमाडौं । स्वीट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा बुधबार भएको अन्तिम १६ को खेल निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
पेनाल्टीमा स्वीट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबिन वर्गासले सफल प्रहार गरे। म्यानुअल अकांजीको प्रहार भने गोलमा परिणत हुन सकेन।
कोलम्बियाका तर्फबाट जुआन क्विन्टेरो, जमिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे। तर डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले पेनाल्टीमा चुकेपछि कोलम्बियाको विश्वकप यात्रा अन्तिम १६ मै टुंगियो।
यस जितसँगै स्वीट्जरल्यान्डले विश्वकपको अन्तिम आठमा स्थान बनाएको छ। साथै, यस नतिजासँगै फिफा विश्वकप २०२६ को अन्तिम १६ चरणका सबै खेलहरू सम्पन्न भएका छन्।



