काठमाडौं । स्पेनले १६ वर्षपछि फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।अमेरिकाको लस एन्जलस स्टेडियममा सम्पन्न क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो। निर्धारित समय सकिनै लाग्दा मिकेल मेरिनोले गरेको निर्णायक गोलले स्पेनलाई जित दिलायो।
खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। तर ४१औँ मिनेटमा बेल्जियमका चाल्र्स डे केटेलारेले हेडरमार्फत बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ को अवस्थामा सकिएको थियो।
दोस्रो हाफमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सफल हुन सकेनन्। अन्ततः ८८औँ मिनेटमा पाउ क्युबार्सीको प्रहार बेल्जियमका गोलकिपरले पूर्ण रूपमा नियन्त्रणमा लिन नसक्दा रिबाउन्ड बलमा मिकेल मेरिनोले सहज गोल गर्दै स्पेनलाई २–१ को रोमाञ्चक जित दिलाए।
खेलभर स्पेनले बलमाथि स्पष्ट नियन्त्रण कायम राख्यो। स्पेनले १६ पटक गोलतर्फ प्रहार गर्दा बेल्जियमले केवल पाँच प्रहार गर्न सकेको थियो।
सन् २०१० मा विश्वकप जितेको स्पेन त्यसयता अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेको थिएन। सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ का संस्करणमा अन्तिम १६ बाटै बाहिरिएको थियो। यसपटक भने उत्कृष्ट प्रदर्शन गर्दै १६ वर्षपछि पुनः सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ।
स्पेनका लागि यो १७औँ विश्वकप सहभागितामा तेस्रो सेमिफाइनल यात्रा हो। यसअघि टोली सन् १९५० र २०१० मा सेमिफाइनल पुगेको थियो। २०१० मा विश्वच्याम्पियन बनेको स्पेनले १९५० मा चौथो स्थान हासिल गरेको थियो।
यता, बेल्जियमको यात्रा भने क्वार्टरफाइनलमै टुंगिएको छ। बेल्जियम सन् २०१८ को विश्वकपमा तेस्रो स्थानमा रहँदा २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो।
अब स्पेनले फाइनल प्रवेशका लागि सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।



