काठमाडौं । आगामी साउन १ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘गौँथली’को अमेरिका प्रदर्शन अधिकार (अमेरिका राइट्स) बिक्री भएको छ। अमेरिकास्थित सेभेन सिस इन्टरनेसनल फिल्म्सले चलचित्रको प्रदर्शन अधिकार खरिद गरेको हो।
अधिकार खरिद–बिक्रीसम्बन्धी सम्झौतामा ‘गौँथली’का निर्देशक डा. कपिल रिजाल, कलाकार अरुण क्षेत्री, निर्माता सुमन गिरी तथा सेभेन सिस इन्टरनेसनल फिल्म्सका तर्फबाट रोशन सुवेदीले हस्ताक्षर गरेका छन्।
प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले अन्तर्राष्ट्रिय बजारमा चलचित्रको अधिकार बिक्री प्रक्रिया सुरु गरेको हो। निर्देशक कपिल रिजालका अनुसार ट्रेलर सार्वजनिक भएपछि चलचित्रप्रति बढेको चासोसँगै विदेशबाट प्रदर्शन अधिकारका लागि मागसमेत बढिरहेको छ।
नेपालमा साउन १ गते प्रदर्शनमा आउने ‘गौँथली’ साउन ८ गते (जुलाई २४)देखि अमेरिकाका विभिन्न प्रमुख सहरमा एकसाथ प्रदर्शन गरिनेछ।
निर्देशक रिजालले चलचित्रप्रतिको सकारात्मक माहोलले ओभरसिज बजारमा पनि उत्साह बढाएको बताए। उनका अनुसार चलचित्रको ट्रेलरले युट्युब ट्रेन्डिङको पहिलो स्थान हासिल गरेपछि विदेशी वितरकहरूबाट लगातार सोधपुछ भइरहेको छ।
निर्माण टिमका अनुसार ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको र प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रको चर्चा बढिरहेकाले नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो व्यापार हुने अपेक्षा गरिएको छ।
दुई दशकअघि डा. भोला रिजालले निर्माण गरेको ‘गौँथली’ नेपाली चलचित्र इतिहासकै पहिलो गीति (म्युजिकल) चलचित्रका रूपमा परिचित छ। प्रदर्शनका क्रममा उक्त चलचित्रले ५१ दिन सफल प्रदर्शन गरेको थियो। अहिले सोही नाममा डा. भोला रिजालका छोरा डा. कपिल रिजालले नयाँ कथासहित ‘गौँथली’ निर्देशन गरेका हुन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने सुमन गिरी र डा. कपिल रिजाल निर्माता रहेका छन्। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माता हुन्।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार पारेका हुन्। चलचित्रमा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक, हरि हुमागाईं छायांकार तथा मिलन श्रेष्ठ सम्पादक रहेका छन्।


