काठमाडौं । मिडफिल्डर जुड बेलिङ्घमको दुई गोलको मद्दतमा इङ्गल्याण्डले नर्वेलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
मियामी स्टेडियममा सम्पन्न रोमाञ्चक क्वार्टरफाइनलमा एक गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै प्रशिक्षक थोमस टुचेलको टोली अन्तिम चारमा पुग्न सफल भयो।
नर्वेले खेलको ३६औँ मिनेटमा अग्रता लिएको थियो। एर्लिङ हालान्डको प्रहार इङ्गल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले रोके पनि रिबाउन्ड बलमा एन्ड्रियास श्जेल्डेरुपले गोल गर्दै नर्वेलाई १–० को अग्रता दिलाएका थिए।
तर पहिलो हाफको इन्जुरी समय (४५+२) मा बेलिङ्घमले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै बराबरी गोल फर्काए। त्यसको केहीबेरपछि ह्यारी केनले बल जाली चुमाए पनि भिडियो सहायक रेफ्री (VAR) ले अफसाइड ठहर गर्दै गोललाई मान्यता दिएन।
दोस्रो हाफको ५९औँ मिनेटमा नर्वेका टोर्बजोर्न हेग्गेमले गोल गरे पनि हालान्डले इङ्गल्याण्डका इलियट एन्डरसनमाथि फउल गरेको निष्कर्ष निकाल्दै VAR ले उक्त गोल रद्द गर्यो। त्यसपछि क्रिस्टोफर एजेरको हेडर क्रसबारमा लाग्दा इङ्गल्याण्ड सम्भावित दोस्रो गोलबाट जोगिएको थियो।
निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको ९३औँ मिनेटमा मोर्गन रोजर्सको शक्तिशाली प्रहारलाई नर्वेका गोलकिपर ओर्यान न्यल्यान्डले पूर्ण रूपमा नियन्त्रणमा लिन नसक्दा आएको रिबाउन्डमा बेलिङ्घमले सहज गोल गर्दै इङ्गल्याण्डलाई २–१ को जित दिलाए।
यो हारसँगै नर्वेको ऐतिहासिक विश्वकप यात्रा क्वार्टरफाइनलमै टुंगिएको छ।
यस विश्वकपमा जुड बेलिङ्घम र ह्यारी केनले समान ६–६ गोल गरेका छन्। उनीहरू एउटै विश्वकप संस्करणमा पाँच वा सोभन्दा बढी गोल गर्ने इङ्गल्याण्डका पहिलो दुई खेलाडी बनेका छन्।
यस्तै, गोलकिपर जोर्डन पिकफोर्डले विश्वकपमा आफ्नो १८औँ खेल खेल्दै पिटर शिल्टनको कीर्तिमान तोडेका छन्। अब उनी इङ्गल्याण्डका लागि विश्वकपमा सर्वाधिक खेल खेल्ने गोलकिपर बनेका छन्।
दुई गोलसहित इङ्गल्याण्डको जितका नायक बनेका जुड बेलिङ्घम खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए।
अब इङ्गल्याण्डले जुलाई १५ मा अटलान्टा स्टेडियममा हुने सेमिफाइनलमा अर्जेन्टिना र स्विट्जरल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।



