काठमाडौं । निर्देशक डा. कपिल रिजालको चलचित्र ‘गौँथली’ ले प्रिमियर शोमै उत्कृष्ट प्रतिक्रिया बटुलेको छ। सोमबार काठमाडौंको सिभिल महलमा आयोजित विशेष प्रदर्शनपछि दर्शक, कलाकार तथा चलचित्रकर्मीले फिल्मको कथा, निर्देशन र अभिनयको खुलेर प्रशंसा गरेका छन्।
प्रिमियरमा सहभागी अधिकांश दर्शकले ‘गौँथली’ले नेपाली ग्रामीण समाजको यथार्थलाई संवेदनशील र प्रभावशाली ढंगले पर्दामा उतारेको प्रतिक्रिया दिएका छन्। विशेषगरी २०६० सालअघिको समाजमा धेरै महिलाले भोग्नुपरेका पीडा, सासु–बुहारीबीचको सम्बन्ध र त्यसले परिवारमा पार्ने प्रभावलाई चलचित्रले मार्मिक रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरिएको हो।

दर्शकका अनुसार करिब दुई घण्टा २० मिनेट लामो चलचित्र सुरुदेखि अन्त्यसम्म रोचक बनेको छ। कथाको प्रवाह, भावनात्मक प्रस्तुति र पात्रहरूको स्वाभाविक अभिनयले चलचित्र कतै पनि बोझिलो महसुस हुन नदिएको प्रतिक्रिया प्रिमियरमा सुनिएको थियो।
चलचित्रमा अटिजम भएका पात्रको भूमिकामा अरुण क्षेत्री र बुहारीको भूमिकामा सिम्रन खड्काको अभिनय विशेष रूपमा रुचाइएको छ। दुवै कलाकारले आफ्नो पात्रलाई जीवन्त बनाएको भन्दै उपस्थित दर्शकले खुलेर प्रशंसा गरेका छन्।
प्रिमियरमा वरिष्ठदेखि नयाँ पुस्तासम्मका कलाकार तथा चलचित्रकर्मीको उल्लेख्य उपस्थिति थियो। कलाकार कृष्ण मल्ल, रवि डंगोल, जितु नेपाल, निर्देशक दिवाकर भट्टराई, निर्माता रोहित अधिकारी, पत्रकार प्रकाश सुवेदीलगायतले चलचित्रले नेपाली समाजको वास्तविक कथा प्रस्तुत गरेको भन्दै निर्माण टिमलाई सफल प्रदर्शनको शुभकामना दिएका छन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको पनि अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन्।
चलचित्रका कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। चलचित्रमा हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।


