काठमाडौं । नेपाली चलचित्र ‘आशा’को औपचारिक छायांकन सुरु भएको छ। उडान स्टुडियोको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र एक महिनाको छायांकन तालिकासहित फ्लोरमा गएको हो।
चलचित्रको पहिलो चरणको छायांकन काठमाडौं उपत्यकाबाट सुरु गरिएको छ। त्यसपछि काभ्रेको नमोबुद्ध र धुलिखेल आसपासका विभिन्न स्थानमा बाँकी दृश्य खिचिने निर्माण पक्षले जनाएको छ।
निर्मात्री शर्मिला थापाले निर्धारित कार्यतालिकाअनुसार साउन महिनाभित्र सम्पूर्ण छायांकन सम्पन्न गर्ने लक्ष्य रहेको बताइन्।
उनले भनिन्, “हामी योजनाअनुसार नै छायांकनमा जुटेका छौँ। नेपाली परिवेश र पारिवारिक भावनालाई केन्द्रमा राखेर बनेको कथालाई उत्कृष्ट प्राविधिक स्तरमा दर्शकमाझ प्रस्तुत गर्ने प्रयास हुनेछ।”

छायांकनको पहिलो दिन अभिनेता शुशांक मैनालीसँगै बाल कलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारीले क्यामेरा सामना गरेका थिए।
राजीव गुरुङको कथा तथा निर्देशनमा निर्माण भइरहेको चलचित्रमा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह र कविता रेग्मीलगायत कलाकारको अभिनय रहनेछ।
निर्देशक गुरुङका अनुसार ‘आशा’ केवल मनोरञ्जनमा सीमित नहुने, दर्शकलाई भावनात्मक रूपमा जोड्ने र सकारात्मक सन्देश दिने पारिवारिक चलचित्र हुनेछ।
चलचित्रमा रामकुमार श्रेष्ठ सह–लेखक तथा मुख्य सहायक निर्देशक, सुदाम एसके कास्टिङ निर्देशक एवं स्क्रिप्ट सुपरभाइजर, नरेन्द्र मैनाली छायांकन निर्देशक, युग भुसाल र समीर खरेल संगीतकार, किशोर आचार्य साउन्ड डिजाइनर, लोकेश बज्राचार्य सम्पादक तथा सोनाली शिल्पकार मेकअप तथा हेयर डिजाइनर रहेका छन्।
त्यस्तै शान्ति तामाङ सहायक निर्देशक, अरुण रेग्मी प्रोडक्सन म्यानेजर, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) पब्लिसिटी डिजाइनर तथा करण श्रेष्ठ (रिच इन्टरटेनमेन्ट) चलचित्रका वितरक हुन्।
निर्माण टिमले चलचित्रलाई आगामी माघ १ गते (माघे सङ्क्रान्ति)देखि देशभर प्रदर्शनमा ल्याउने तयारी गरेको जनाएको छ।


