काठमाडौं । नेपाली चलचित्र ‘गौँथली’ आजदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ। प्रदर्शनअघि नै देशभरका मल्टिप्लेक्स र सिंगल स्क्रिन हलबाट २ सयभन्दा बढी शो प्राप्त गरेपछि चलचित्रले उत्साहजनक सुरुआत गरेको छ।
प्रिमियर प्रदर्शनपछि प्राप्त सकारात्मक प्रतिक्रियाले हल सञ्चालकको विश्वास बढाएको निर्माण पक्षको भनाइ छ। चलचित्रले प्रदर्शनको पहिलो दिनदेखि नै उल्लेखनीय शो पाएको भन्दै निर्माण टिमले दर्शकबाट पनि राम्रो साथ पाउने अपेक्षा गरेको छ।
निर्देशक कपिल रिजालले नेपाली समाजको यथार्थ, पारिवारिक सम्बन्ध र महिलाले भोग्ने सामाजिक पीडालाई केन्द्रमा राखेर चलचित्र निर्माण गरिएको बताएका छन्। उनका अनुसार ‘गौँथली’ मनोरञ्जनसँगै समाजलाई सोच्न बाध्य बनाउने कथा हो।
चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। साथै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रका कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद निर्देशक कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले तयार गरेका हुन्। हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले देशव्यापी रूपमा वितरण गरेका छन्।
प्रिमियरबाट पाएको सकारात्मक प्रतिक्रिया र देशभर प्राप्त उच्च शो सङ्ख्याले ‘गौँथली’को व्यापारिक यात्रा उत्साहजनक रहने अपेक्षा निर्माण पक्षले गरेको छ।



