काठमाडौं । नेपाली चलचित्र उद्योगमा नयाँ कमेडी चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ निर्माण हुने भएको छ। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित विशेष समारोहबीच औपचारिक घोषणा गरिएको हो।
घोषणा कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, निर्देशक, प्राविधिक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, निर्देशक मिलन चाम्स तथा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले चलचित्र सफलताको शुभकामना व्यक्त गरेका थिए।
चलचित्रको लेखन तथा निर्देशन अमरदीप सापकोटाले गर्नेछन् भने निर्माण रघुनाथ सापकोटाले गरेका हुन्। निर्माण पक्षका अनुसार चलचित्रको छायांकन यही सातादेखि सुरु हुनेछ। निर्माता सापकोटाले रघुजी फिल्म्सबाट घोषणा गरिएका अन्य परियोजनाहरू पनि क्रमशः निर्माण प्रक्रियामा अघि बढाइने जानकारी दिए।

चलचित्रका गीत चर्चित गायक पशुपति शर्माले तयार पार्नेछन् भने सिनेमाटोग्राफर संकल भुजेल छायांकन निर्देशकका रूपमा आबद्ध छन्। निरज नेपाल कार्यकारी निर्माता, शमशेर लामा मेकअप प्रमुख तथा जीवन पोखरेल भेषभूषा डिजाइनरको भूमिकामा रहेका छन्।
‘तीन तीघ्रे क्या बिग्रे’मा पशुपति शर्मा, परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, पृथ्वीराज प्रसाईं, नरेश पौडेल, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, बिरबल घले, उत्तम केसी, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, रेनु गुरुङ, विनोद केसी, सुरेश तिमल्सिना र राजु तिमल्सिनालगायत कलाकारहरूको अभिनय रहनेछ।

निर्देशक अमरदीप सापकोटाका अनुसार चलचित्रले हाँसो, व्यंग्य र पारिवारिक मनोरञ्जनलाई केन्द्रमा राख्दै सबै उमेर समूहका दर्शकलाई मनोरञ्जन दिने लक्ष्य राखेको छ।
चलचित्रको देशव्यापी वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको निर्माण पक्षले जनाएको छ।



