काठमाडौं : फ्रान्सका कप्तान तथा स्टार फरवार्ड किलियन एम्बाप्पे फिफा विश्वकप इतिहासकै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।
विश्वकप २०२६ मा उत्कृष्ट लय कायम राख्दै उनले १० गोल थपेपछि आफ्नो कुल विश्वकप गोल संख्या २२ पुर्याएका छन्। यससँगै उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानलाई पछि पार्दै नयाँ इतिहास रचेका हुन्।
एम्बाप्पेले हालसम्म विश्वकपमा २२ खेल खेल्दै २२ गोल गरेका छन्। उनले सन् २०१८ को विश्वकपमा ४, २०२२ संस्करणमा ८ र यसपटक १० गोल गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थान कब्जा गरेका हुन्।
यता, अर्जेन्टिनाका कप्तान लियोनेल मेसी पनि विश्वकपका सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। आफ्नो छैटौँ विश्वकप खेलिरहेका मेसीले यस संस्करणमा ८ गोल थपेपछि विश्वकपमा उनको कुल गोल संख्या २१ पुगेको छ।
एम्बाप्पे र मेसीले क्लोजको पुरानो कीर्तिमान उछिनेपछि १६ गोलसहित क्लोज तेस्रो स्थानमा झरेका छन्। ब्राजिलका महान् स्ट्राइकर रोनाल्डो नाजारियो १५ गोलसहित चौथो स्थानमा छन्।
यस्तै, इंग्ल्यान्डका कप्तान ह्यारी केनले पनि यस विश्वकपमा ६ गोल थप्दै आफ्नो विश्वकप गोल संख्या १४ पुर्याएका छन्। यससँगै उनले जर्मनीका महान् स्ट्राइकर गेर्ड मुलरको विश्वकप गोलसंख्याको बराबरी गरेका छन्।



