काठमाडौं । अभिनेता विजय बराल पूर्ण रूपमा निको भएपछि नेपाली चलचित्र ‘सिन्दुरे जात्रा’ को छायांकन पुनः सुरु गरिएको छ। विजय घाइते भएपछि केही समय रोकिएको छायांकन अहिले पुनः नियमित रूपमा अघि बढिरहेको निर्माण टिमले जनाएको छ।
जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिका–आर्थर डाँडाखर्कबाट सुरु भएको छायांकन १५ दिनपछि रोकिएको थियो। छायांकनकै क्रममा घोडाबाट खस्दा विजय बरालको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो। उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै उनी पुनः छायांकनमा फर्किएका हुन्।
निर्देशक सरोज पौडेलका अनुसार दुई साताअघि देखि सोही स्थानबाट छायांकन पुनः सुरु गरिएको छ। उनले केही समय काम रोकिए पनि त्यस अवधिलाई चलचित्रलाई अझ प्रभावकारी बनाउने तयारीमा उपयोग गरिएको बताए।
“हामी फेरि नयाँ ऊर्जा र उत्साहका साथ छायांकनमा फर्किएका छौं। रोकिएको समयलाई व्यर्थ जान दिएनौं, चलचित्रलाई अझ उत्कृष्ट बनाउने तयारीमै केन्द्रित भयौं,” निर्देशक पौडेलले भने।
‘सिन्दुरे जात्रा’मार्फत निर्देशक सरोज पौडेल, अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइलीले दोस्रो पटक सहकार्य गरिरहेका छन्। यसअघि यही टोलीले नेपाली चलचित्र इतिहासकै सफल चलचित्रमध्ये एक ‘पूर्णबहादुरको सारङ्गी’ मा सँगै काम गरेको थियो।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, पूर्व मिस नेपाल उषा खड्गीलगायत कलाकारको अभिनय रहनेछ।
चलचित्रको कथा निर्देशक सरोज पौडेलको हो भने पटकथा तथा संवाद सबिन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका छन्। दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा आकाश, सुमन रञ्जित र श्याम मगर सह–निर्माताका रूपमा रहेका छन्।
पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ। आरआर फिल्म्सले वितरण गर्ने ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गते देशभर प्रदर्शनमा आउने तयारीमा छ।



