काठमाडौं । निर्देशक बलिराम चौहानको नयाँ नेपाली चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ मा अभिनेता सन्तोष बानियाँ मुख्य भूमिकामा अनुबन्धित भएका छन्। सोमबार निर्माण पक्ष र सन्तोषबीच औपचारिक सम्झौता भएसँगै उनी चलचित्रमा आबद्ध भएका हुन्।
यसअघि नै अभिनेता रियान गिरी मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन्। विशेष कुरा, सन्तोष र रियान दुवैले नेपाली चलचित्र क्षेत्रमा ‘होस्टेल ३’ बाट एकसाथ डेब्यु गरेका कलाकार हुन्।
रङ्गमञ्च, टेलिसिरियल र म्युजिक भिडियोमार्फत अभिनय यात्रा अघि बढाएका सन्तोषले ‘होस्टेल ३’पछि ‘गोबर गणेश’ र ‘कस्तुरी’ मा अभिनय गरिसकेका छन्। यसअघिका चलचित्रमा सहायक भूमिकामा देखिएका उनी ‘ल्याङ्ग ल्याङ्ग’मा पहिलोपटक मुख्य पात्रको रूपमा प्रस्तुत हुन लागेका हुन्।
निर्देशक चौहानका अनुसार पात्रको मनोविज्ञानलाई गहिरोसँग आत्मसात् गर्न सक्ने क्षमता भएकै कारण सन्तोषलाई मुख्य भूमिकामा छनोट गरिएको हो।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्रको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ। चलचित्रले नेपाली युवापुस्ताको मित्रता, सम्बन्ध, मानसिक दबाब, संघर्ष र दैनिक जीवनका उतारचढावलाई केन्द्रमा राखेर कथा प्रस्तुत गर्नेछ।
यसअघि सार्वजनिक गरिएको थिम पोस्टरमा रहेको ‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनको लागि यति मात्र हो’ भन्ने सन्देशले प्रेम, विश्वासघात र त्यसपछि उत्पन्न हुने मानसिक द्वन्द्वलाई चलचित्रको मुख्य विषयवस्तु बनाइएको संकेत गर्छ।
निर्देशक बलिराम चौहानले गत वर्ष ‘द ब्ल्यू लाइट’ मार्फत निर्देशनमा डेब्यु गरेका थिए। उक्त चलचित्रले समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाए पनि प्रदर्शनको समय र राजनीतिक माहोलका कारण अपेक्षित व्यावसायिक सफलता हासिल गर्न सकेको थिएन। यसपटक भने ‘ल्याङ्ग ल्याङ्ग’मार्फत फरक स्वादको कथा लिएर दर्शकमाझ आउने तयारीमा उनी छन्।
चलचित्रको कथा बलिराम चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा लेखेका हुन्। हाल चलचित्रको प्रि–प्रोडक्सन र कास्टिङको काम तीव्र रूपमा भइरहेको निर्माण पक्षले जनाएको छ।
निर्देशक चौहानले भने, “अहिले कलाकार र प्राविधिक टोलीलाई पूर्णता दिने काम भइरहेको छ। केही स्थापित र केही नयाँ प्रतिभासँग छलफल जारी छ। सम्पूर्ण टिमको घोषणा गरेपछि छायांकन सुरु गर्नेछौँ।”



