काठमाडौं । अभिनेत्री तथा मोडल कविता नेपाली निर्देशक रुपेश तामाङको नयाँ नेपाली चलचित्र ‘एक्का तीन’मा मुख्य नायिकाका रूपमा अनुबन्धित भएकी छन्। उनको जन्मदिनको अवसर पारेर निर्माण पक्षले औपचारिक रूपमा सम्झौता गरेको हो।
यसअघि नै चलचित्रमा अभिनेत्री पूजा शर्मा र अभिनेता पुष्प खड्का मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन्। कविता नेपालीको प्रवेशसँगै चलचित्रको मुख्य कलाकार टोलीले पूर्णता पाएको छ। चलचित्रको छायांकन भदौ महिनादेखि सुरु गर्ने तयारी गरिएको छ।
निर्देशक रुपेश तामाङका अनुसार ‘एक्का तीन’ एक्सन जनरामा निर्माण हुँदैछ। कविता नेपालीले यसअघि देखाएको एक्सन अभिनयलाई दर्शकले रुचाएकाले उनलाई यो भूमिकाका लागि छनोट गरिएको उनले बताए।
निर्देशक तामाङले चलचित्रमा पूजा शर्मा र कविता नेपालीबीचको सशक्त भिडन्त दर्शकका लागि विशेष आकर्षण हुने दाबी गरेका छन्।
जुना फिल्म्स र अधिरा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको कथा तथा पटकथा सुमन गजमेरले लेखेका हुन्।
कविता नेपाली यसअघि चलचित्र ‘एक्लो’मा एक्सन अवतारमा देखिएकी थिइन्। उक्त चलचित्रमा उनको अभिनयले प्रशंसा बटुलेको थियो। **‘एक्का तीन’**मार्फत उनी पुनः एक्सन भूमिकामा दर्शकमाझ प्रस्तुत हुँदैछिन्।



