काठमाडौं । प्रदर्शनसँगै सकारात्मक चर्चा बटुलिरहेको नेपाली चलचित्र ‘गौँथली’ले बक्स अफिसमा पनि उत्साहजनक प्रदर्शन गरिरहेको छ। पहिलो दिन औसत व्यापार गरेको चलचित्रले दोस्रो र तेस्रो दिन भने अपेक्षाभन्दा राम्रो व्यवसाय गर्दै बलियो ‘वर्ड अफ माउथ’को लाभ उठाएको निर्माण पक्षले जनाएको छ।
विश्वकप फुटबलको माहोल र निरन्तरको वर्षाका कारण दर्शकको उपस्थिति प्रभावित हुने अनुमान गरिए पनि ‘गौँथली’ले त्यसलाई चुनौती दिँदै सिनेमाघरमा उल्लेखनीय दर्शक तान्न सफल भएको छ। दर्शकको चाप बढेपछि देशभरका अधिकांश हलले चलचित्रका शोसमेत थपेका छन्।
निर्देशक डा. कपिल रिजालका अनुसार चलचित्र हेरेर बाहिरिएका दर्शकको सकारात्मक प्रतिक्रियाले पछिल्ला शोहरूमा दर्शक संख्या निरन्तर बढिरहेको छ।
उनले भने, “चलचित्र हेर्ने दर्शकले अरूलाई पनि हेर्न सिफारिस गरिरहनुभएको छ। त्यसैले विशेषगरी अपराह्न र साँझका शोहरूमा दर्शकको उपस्थिति उल्लेखनीय रूपमा बढेको छ।”
यसैबीच निर्देशक रिजालले चलचित्रका दृश्य खिचेर फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा पोस्ट नगर्न पनि आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै उनले दर्शकको माया र साथप्रति आभार व्यक्त गर्दै चलचित्रका दृश्य सार्वजनिक गर्दा अन्य दर्शकको उत्सुकता घट्ने र निर्माण पक्षलाई व्यावसायिक तथा सृजनात्मक क्षति पुग्ने बताएका छन्।
उनले चलचित्रका भिडियो वा दृश्य अनधिकृत रूपमा सामाजिक सञ्जालमा पोस्ट गर्ने कार्यविरुद्ध कानुनी प्रक्रिया अघि बढाइसकिएको जानकारी पनि दिएका छन्।
निर्देशक रिजालका अनुसार ‘गौँथली’ले श्रीमान्–श्रीमतीबीचको विश्वास, अन्यायविरुद्ध आवाज उठाउने साहस, संघर्ष, धैर्यता र छोरीको शिक्षाको महत्वलाई सशक्त रूपमा प्रस्तुत गरेको छ। विशेषगरी महिलाको पीडा र आत्मसम्मानसँग जोडिएको कथाले धेरै दर्शकको मन छोएको प्रतिक्रिया आएको उनले बताए।
निर्माता सुमन गिरीका अनुसार मंगलबार पनि देशभरका अधिकांश हलमा चलचित्रको अकुपेन्सी उत्साहजनक रहेको छ। बिहानका शोमा ७०–८० प्रतिशतसम्म र दिउँसो तथा साँझका धेरै शोहरूमा शतप्रतिशत अकुपेन्सी देखिएको उनले जानकारी दिए।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारहरूको अभिनय रहेको छ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार पारेका हुन्। घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले देशभर वितरण गरिरहेका छन्।



