काठमाडौं । सकारात्मक प्रतिक्रियासँगै नेपाली चलचित्र ‘गौँथली’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले दर्शकबाट राम्रो साथ पाएपछि देशभर यसको शो संख्या निरन्तर बढिरहेको निर्माण पक्षले जनाएको छ।
सुरुवातमा करिब २०० शो पाएको ‘गौँथली’ अहिले २५० भन्दा बढी शोमा प्रदर्शन भइरहेको छ। अधिकांश सिनेमाघरमा दर्शकको उपस्थिति बढ्दै गएपछि शो विस्तार गरिएको हो।
चलचित्रको व्यापार पनि उत्साहजनक रहेको निर्माण टिमको दाबी छ। यद्यपि, आधिकारिक बक्स अफिस तथ्यांक भने हालसम्म सार्वजनिक गरिएको छैन।

निर्देशक डा. कपिल रिजालका अनुसार चलचित्र विकास बोर्डले प्रत्येक सोमबार आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गर्ने भएकाले निर्माण पक्षले आफ्नै तथ्यांक सार्वजनिक नगरेको हो।
उनले भने, “यसपटक धेरैको अपेक्षाभन्दा राम्रो बक्स अफिस नतिजा आउने विश्वास गरेका छौं। आधिकारिक विवरण बोर्डले सार्वजनिक गरेपछि सबै स्पष्ट हुनेछ।”
रिलिजको पहिलो दिन औसत देखिएको दर्शक उपस्थिति त्यसपछिका दिनमा उल्लेखनीय रूपमा बढ्दै गएको छ। विशेषगरी दिउँसो र साँझका अधिकांश शोमा उच्च अकुपेन्सी देखिएको निर्माण पक्षले जनाएको छ।
चलचित्रको प्रचारप्रसारलाई प्रभावकारी बनाउन कलाकार र निर्माण टोली काठमाडौं उपत्यकासँगै मोफसलका विभिन्न सिनेमाघर पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। दर्शकले ‘गौँथली’लाई मौलिक कथावस्तु बोकेको पारिवारिक चलचित्रका रूपमा प्रशंसा गरिरहेका छन्। एउटै परिवारका १०–१५ जनासम्म समूहमा फिल्म हेर्न आउने क्रम पनि बढेको निर्माण पक्षको भनाइ छ। साथै, हलहरूमा महिला दर्शकको उपस्थिति उल्लेखनीय रहेको बताइएको छ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार पारेका हुन्।
घर, परिवार, सम्बन्ध र आत्मीयताको कथालाई केन्द्रमा राखिएको ‘गौँथली’लाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले देशव्यापी रूपमा वितरण गरिरहेका छन्।



