काठमाडौं । द्रव्य प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको नयाँ हास्य चलचित्र ‘फलानो ढिस्कानो’ को औपचारिक घोषणा गरिएको छ। निर्माण पक्षले मंगलबार दुईवटा क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण प्रक्रिया सुरु भएको जानकारी दिएको हो।
सार्वजनिक पोस्टरमा कथावाचनमार्फत लोकप्रिय बनेका साइग्रेस पोखरेललाई मुख्य पात्रका रूपमा प्रस्तुत गरिएको छ। एक पोस्टरमा उनी मोटरसाइकलको पछाडि बसेर कतै गइरहेको देखिन्छ भने अर्को पोस्टरमा चलचित्र पत्रकारको प्रेस कार्ड बोकेर मोबाइलमा राइड बुक गरिरहेको दृश्य समावेश गरिएको छ। पोस्टरका आधारमा उनी चलचित्रमा पत्रकारको भूमिकामा देखिने संकेत गरिएको छ।
पोस्टरमा साइग्रेसको हँसिलो अभिव्यक्ति र प्रस्तुतिले चलचित्र पूर्ण रूपमा हास्य शैलीमा निर्माण हुन लागेको आभास दिन्छ।
जय नेपाल हलमा आयोजित घोषणा कार्यक्रममा साइग्रेसले आफू अभिनयबाट टाढिने सोचमा रहे पनि ‘फलानो ढिस्कानो’को कथाले फेरि चलचित्रमा फर्काएको बताए।
उनले भने, “‘आ बाट आमा’पछि अब फिल्म खेल्दिनँ भन्ने सोचेको थिएँ। तर चलचित्रप्रतिको मोह छुट्दो रहेनछ। यो फिल्मको कथा मन परेकाले काम गर्न तयार भएको हुँ।”
निर्माण टिमले हाल साइग्रेसबाहेक अन्य कलाकारको नाम सार्वजनिक गरेको छैन। अन्य कलाकार तथा प्राविधिक टोलीको विवरण क्रमिक रूपमा सार्वजनिक गरिने जनाएको छ।
चलचित्रको निर्देशन राजकुमारले गर्नेछन्। उनका अनुसार ‘फलानो ढिस्कानो’को छायांकन आगामी दशैंपछि सुरु गरिनेछ।


