काठमाडौं । जेनजी आन्दोलन र त्यसअघिपछि विकसित सामाजिक तथा राजनीतिक अवस्थालाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘चंगुल’को प्रदर्शन मिति सरेको छ। यसअघि भदौ १९ गतेदेखि प्रदर्शनमा आउने घोषणा गरिएको चलचित्र अब असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो।
निर्माण पक्षका अनुसार पोस्ट–प्रोडक्सनका केही प्राविधिक काम समयमै सम्पन्न हुन नसक्ने भएपछि प्रदर्शन मिति परिवर्तन गरिएको हो।
मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्र ‘चंगुल’ले भ्रष्टाचारले थिलथिलो बनेको मुलुक र त्यसविरुद्ध जागेको युवापुस्ताको चेतनालाई मुख्य कथावस्तु बनाएको छ।
निर्माता मालती कार्कीका अनुसार गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र सो आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा चलचित्र निर्माण गरिएको हो। चलचित्रले आन्दोलनको पृष्ठभूमिसँगै सामाजिक परिवर्तनका लागि युवाको भूमिकालाई प्रस्तुत गर्ने प्रयास गरेको छ।
चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमिल्सिना, राकेश कुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछानेलगायत कलाकारहरूको अभिनय रहेको छ। बाल कलाकार रिम्शा कार्की पनि चलचित्रमा विशेष भूमिकामा देखिनेछिन्।
चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत रहेको छ। देव महर्जनले द्वन्द्व निर्देशन, दिपेन बस्न्यातले छायांकन तथा सम्पादनको जिम्मेवारी सम्हालेका छन्।


