काठमाडौं । निर्देशक सम्राट बस्नेतले नयाँ नेपाली चलचित्र ‘दुर्गा’ निर्माणको घोषणा गरेका छन्। थिम पोस्टर सार्वजनिक गर्दै उनले आफ्नो आगामी निर्देशकीय परियोजनाबारे औपचारिक जानकारी दिएका हुन्।
सार्वजनिक गरिएको थिम पोस्टरमा दुर्गा मन्दिरको प्रवेशद्वार अगाडि एक युवती एक्लै उभिएको देखिन्छ। मन्दिरअगाडि रहेको त्रिशूल, रातो रंगको प्रभाव र रहस्यमय दृश्य संयोजनले चलचित्रको कथावस्तुबारे दर्शकमाझ कौतुहलता सिर्जना गरेको छ।

पोस्टरमा प्रयोग गरिएका प्रतीकहरूले चलचित्रको केन्द्रमा ‘दुर्गा’ नामको पात्र रहने संकेत गरेका छन्। साथै, महिला पात्रलाई मुख्य केन्द्रमा राखिएको कथा हुने अनुमान गर्न सकिन्छ। रातो रंगको प्रयोग र धार्मिक परिवेशले चलचित्रमा रहस्य, द्वन्द्व र पौराणिक पक्षको मिश्रण रहेको आभास दिलाउँछ।
निर्देशक बस्नेतका अनुसार चलचित्र मिथोलोजिकल (पौराणिक) कथामा आधारित हुनेछ। यद्यपि कलाकार र प्राविधिक टोलीबारे भने हाल कुनै विवरण सार्वजनिक गरिएको छैन।
“छिट्टै मुख्य कलाकारहरूको घोषणा गर्नेछौँ। केही कलाकार अडिसनमार्फत छनोट गर्ने तयारी पनि गरेका छौँ,” निर्देशक बस्नेतले बताएका छन्।
कुस्मण्डा र ग्लोबल रिल मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रको कथा निश्चल ढुंगानाले लेखेका हुन्।


