काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाले आफ्नो नयाँ फिल्म ‘ए मेरो हजुर ५’ को छायांकन साउन २९ गतेदेखि सुरु हुने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै फिल्मको शुभारम्भ बाजुरास्थित प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरबाट गरिने बताएकी हुन्। फिल्मको छायांकन सिनेमाटोग्राफर सञ्जय लामाले गर्नेछन्।
झरनाले बडीमालिकालाई नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको प्रतीकका रूपमा उल्लेख गर्दै त्यहीँबाट फिल्मको यात्रा सुरु गर्न पाउँदा आफूहरू गौरवान्वित भएको बताएकी छन्।
उनले लेखेकी छन्, “नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडीमालिकाबाट मेरो नयाँ सिनेमा ‘ए मेरो हजुर ५’को छायांकन यात्रा यही साउन २९ गतेदेखि शुभारम्भ हुँदैछ।”
उनका अनुसार हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडीमालिका केवल धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो। उनले बडीमालिकाको संरक्षण तथा प्रवर्द्धनमा जोड दिँदै यसको महत्त्वलाई अझ व्यापक रूपमा स्थापित गर्नुपर्ने धारणा राखेकी छन्।
झरनाले प्रधानमन्त्री बालेन्द्र शाहले पनि बडीमालिकालाई सुदूरपश्चिमको गौरव तथा नेपालको पर्यटन विकासको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यसको प्रचार–प्रसारमा जोड दिएको प्रसंग स्मरण गरेकी छन्।
उनले नेपाली प्रकृति, संस्कृति र भावनालाई अझ व्यापक रूपमा दर्शकमाझ पुर्याउने उद्देश्यले ‘ए मेरो हजुर ५’ निर्माण गर्न लागेको बताएकी छन्। यस फिल्ममार्फत नेपालीपनलाई नयाँ ढंगले प्रस्तुत गर्ने विश्वास पनि उनले व्यक्त गरेकी छन्।
झरना थापाको निर्देशनमा बन्ने फिल्ममा अभिनेत्री सुहाना थापा र अभिनेता अनमोल केसी मुख्य भूमिकामा देखिनेछन्। अन्य कलाकारहरूको नाम भने हालसम्म गोप्य राखिएको छ। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सुनिलकुमार थापा हुन्।
यो फिल्ममार्फत सुहाना र अनमोल तेस्रो पटक एकसाथ पर्दामा देखिन लागेका हुन्। यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ मा सहकार्य गरेका थिए, जहाँ उनीहरूको जोडीलाई दर्शकले निकै रुचाएका थिए।
‘ए मेरो हजुर’ शृंखलाका अघिल्ला चारै संस्करणले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेका छन्। स्वर्गीय निर्देशक शिव रेग्मीले पहिलो संस्करण निर्देशन गरेका थिए भने दोस्रो शृंखलादेखि निर्देशनको जिम्मेवारी झरना थापाले सम्हाल्दै आएकी छन्।



