काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिका कसले निर्वाह गर्ने भन्ने कौतुहलताको अन्त्य भएको छ। निर्माण टिमले उक्त भूमिकाका लागि अभिनेता अरुण क्षेत्रीलाई अनुबन्ध गरेको छ।
मदनकृष्णको वास्तविक जीवनका अभिन्न सहयात्री हरिवंश आचार्य अब पर्दामा अरुण क्षेत्रीका रूपमा देखिनेछन्। हाल प्रदर्शनरत ब्लकबस्टर चलचित्र ‘गौँथली’का मुख्य अभिनेता रहेका अरुणले ‘म मदनकृष्ण’सँगै निर्माण टिमले सिरिजका रूपमा निर्माण गर्ने हरिवंश आचार्यको बायोपिकमा पनि मुख्य भूमिका निर्वाह गर्ने गरी एकैपटक सम्झौता गरेका छन्।
निर्देशक मिलन चाम्सका अनुसार हरिवंशको भूमिकाका लागि सशक्त अभिनय क्षमता भएको कलाकारको खोजी गर्ने क्रममा अरुण क्षेत्रीलाई छनोट गरिएको हो।
उनले भने, “हामीले ‘म मदनकृष्ण’मा हरिवंशको भूमिकाका लागि अरुणलाई लिएका छौँ। साथै हरिवंश आचार्यको जीवनमा आधारित बन्ने बायोपिकका लागि पनि उहाँलाई एकैपटक अनुबन्ध गरेका छौँ। उहाँको अभिनय दर्शकले मन पराउनेमा हामी विश्वस्त छौँ।”
बायोपिक ‘म मदनकृष्ण’ले मदनकृष्ण श्रेष्ठको बाल्यकालदेखि सरकारी सेवाको यात्रा, हरिवंश आचार्यसँगको ऐतिहासिक सहकार्य, अन्तरजातीय विवाह, संघर्ष, सफलता तथा जीवनका विभिन्न आरोह–अवरोहलाई पर्दामा उतार्नेछ।
चलचित्रमा मदनकृष्णको भूमिकामा महेश त्रिपाठी देखिनेछन् भने उनकी पत्नी यशोदा श्रेष्ठको भूमिकामा केकी अधिकारी अनुबन्धित छिन्। साथै राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहेको यस चलचित्रलाई राजकुमार श्रेष्ठले निर्माण गर्दैछन् भने निर्देशन मिलन चाम्सले गर्नेछन्। चाम्सले यसअघि राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अन्जिला तुम्बाप्पे सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ निर्देशन गरेका थिए।
निर्माण पक्षका अनुसार ‘म मदनकृष्ण’को डिजिटल अधिकार नेपालको प्रतिष्ठित डिजिटल कम्पनी ओएसआर डिजिटलले कीर्तिमानी मूल्यमा खरिद गरिसकेको छ। चलचित्रको छायांकन भदौ दोस्रो सातादेखि सुरु हुनेछ भने वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले गर्नेछन्।



