काठमाडौं । केवल २५० रुपैयाँको किनमेलले एक उपभोक्तालाई रातारात १० लाख रुपैयाँको बम्पर नगद उपहार जिताएको छ।
आन्तरिक राजस्व विभागद्वारा सञ्चालन गरिएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट सामान खरिद गरेका एक उपभोक्ता पहिलो बम्पर उपहारका विजेता बनेका हुन्।
विभागले साउन १ देखि १५ गतेसम्म जारी भएका कर बिजक (बिल)लाई आधार मानेर गरिएको पहिलो भाग्यशाली गोलाप्रथामार्फत विजेताको घोषणा गरेको हो।
उपभोक्ताले सामान वा सेवा खरिद गर्दा अनिवार्य रूपमा कर बिजक (बिल) लिने बानीको विकास गराउने र कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभागले यो योजना सञ्चालनमा ल्याएको जनाएको छ।
विभागका अनुसार सही तरिकाले कर बिल लिएर योग्य ठहरिएका सर्वसाधारण उपभोक्तामध्येबाट पारदर्शी रूपमा गोलाप्रथा गरी विजेता छनोट गरिन्छ।
कर प्रणालीमा सर्वसाधारणको सहभागिता बढाउन सुरु गरिएको यस कार्यक्रमअन्तर्गत अब हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन नियमित रूपमा भाग्यशाली विजेताको घोषणा गरिने आन्तरिक राजस्व विभागले जनाएको छ।


