काठमाडौं । चलचित्र ‘महाराजधिराज’का मुख्य अभिनेता पुष्प खड्काको नयाँ लुक सार्वजनिक भएको छ। निर्माण टिमले सार्वजनिक गरेको तस्बिरमा पुष्प सिक्स प्याक शरीरसहित देखिएका छन्।
चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले सामाजिक सञ्जालमार्फत पुष्पको तस्बिर सार्वजनिक गर्दै ‘महाराजधिराज’का लागि उनले गरेको मेहनत र समर्पणको प्रशंसा गरेका छन्। उनका अनुसार चलचित्रको भूमिकाका लागि पुष्पले कठोर मेहनत गर्दै आफ्नो शारीरिक बनावटमा समेत ठूलो परिवर्तन ल्याएका हुन्।
विराजले कलाकारका लागि त्याग, तपस्या र संघर्ष आवश्यक हुने उल्लेख गर्दै ‘महाराजधिराज’का लागि पुष्पले गरेको मेहनत प्रशंसनीय रहेको बताएका छन्। उनले चलचित्र प्रदर्शनपछि पुष्पको करिअरले नयाँ उचाइ लिने दाबीसमेत गरेका छन्।
यसअघि चलचित्रमा अनुबन्ध हुने क्रममा पुष्पले कागजी सम्झौतामा हात काटेर रगतको औँठाछाप लगाएपछि पनि उनी चर्चामा आएका थिए।
हाल ‘महाराजधिराज’को काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको छ। सुनसरीको श्रीलंका टापुबाट सुरु भएको चलचित्रको छायांकन भक्तपुर हुँदै अहिले काठमाडौंमा भइरहेको हो। निर्माण टिमले चलचित्रका लागि ७० दिनको छायांकन तालिका तय गरेको छ।

परिच्छेद सेनको निर्देशनमा निर्माण भइरहेको चलचित्रलाई नबराज थापाले छायांकन गरिरहेका छन्। निर्देशक सेनका अनुसार ‘महाराजधिराज’ सामाजिक तथा पिरियड ड्रामामा आधारित चलचित्र हो।
चलचित्रमा पुष्प खड्कासँगै आर्यन सिग्देल, रमेश उप्रेती, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, सुशील सिटौला, पूजना प्रधान, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डीसी र गजित विष्टलगायतका कलाकारको अभिनय रहनेछ।
त्यस्तै हिउँवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदीप अधिकारी र कमल देवकोटालगायतका कलाकार पनि चलचित्रमा देखिनेछन्। चलचित्रमा करिब ८० जना कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रको लेखन पनि निर्देशक परिच्छेद सेनले नै गरेका हुन्। ‘महाराजधिराज’का निर्माता रवि खड्का र टोपेन्द्र विष्ट हुन्।


