काठमाडौं । निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता दयाहाङ राई पनि जोडिएका छन्। यसअघि मुख्य भूमिकामा सौगात मल्ललाई अनुबन्ध गरिसकेको निर्माण टिमले अब दयाहाङलाई समेत मुख्य भूमिकाका लागि अनुबन्ध गरेको हो।
सौगात र दयाहाङ नेपाली चलचित्रका चर्चित अभिनेता हुन्। चलचित्र ‘लुट’बाट एकसाथ दर्शकमाझ स्थापित भएका यी दुई कलाकार लामो समयपछि एउटै चलचित्रमा देखिने भएपछि ‘द राइज अफ साम्राज्य’प्रति दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ।
निर्देशक चौधरीका अनुसार चलचित्रमा सौगात र दयाहाङसँगै अन्य चर्चित कलाकारहरू पनि जोडिने क्रम जारी छ। उनले चलचित्रलाई ठूलो स्केलमा निर्माण गर्ने तयारी भइरहेको बताए।
“हालसम्म सौगात र दयाहाङलाई चलचित्रमा भित्र्याएका छौँ। अझै केही सरप्राइजिङ नाम बाँकी छन्,” चौधरीले भने, “दर्शकलाई राम्रो र स्तरीय चलचित्र दिन कुनै कसर बाँकी राख्ने छैनौँ।”
‘द राइज अफ साम्राज्य’मा दयाहाङलाई अहिलेसम्म देखिँदै आएका भूमिकाभन्दा फरक चरित्रमा प्रस्तुत गरिने निर्देशक चौधरीले बताएका छन्। यो दयाहाङ र सौरभको पहिलो सहकार्य हो।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई ‘एपिक एक्सन ड्रामा’का रूपमा तयार गरिँदैछ। चर्चित उपन्यासकार बुद्धिसागरले चलचित्रको कथा तथा पटकथा लेखेका छन्।
निर्माण पक्षले यसलाई नेपाली चलचित्रकै ठूलो स्केलको एक्सन चलचित्र बनाउने दाबी गरेको छ। चलचित्रको छायांकन आगामी भदौको पहिलो साताबाट सुरु हुनेछ। ७० दिनको छायांकन तालिका तय गरिएको छ भने अधिकांश दृश्य पूर्वी नेपालमा खिचिनेछन्।
प्रवेश चौधरी र निला देव निर्माता रहेको चलचित्रमा विश्वास बस्नेत ‘बेन’ को–प्रोड्युसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्। मानकृष्ण महर्जन डीओपी तथा श्री श्रेष्ठ एक्सन निर्देशकका रूपमा रहनेछन्।
चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटी पार्टनर टौवा स्टुडियो र वितरक डीसीएन रहेका छन्।


