काठमाडौँ । बलिराम चौहानको निर्देशनमा निर्माण हुन लागेको नेपाली सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’मा अभिनेत्री गुराँस ढकाल मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। यो गुराँसको मुख्य भूमिकामा डेब्यु सिनेमा हुनेछ। यसअघि उनले केही सिनेमामा सहायक भूमिकामा अभिनय गरिसकेकी छन्।
गुराँसले अभिनेता सञ्जोग रसाइलीसँग एक्टर्स हबमा अभिनय प्रशिक्षण लिएकी हुन्। प्रशिक्षणका क्रममा उनले अभिनय, अभिव्यक्ति, प्रस्तुति तथा चरित्र निर्माणका विभिन्न पक्षमा काम गरेकी छन्। अभिनय यात्राका क्रममा उनले विज्ञापन, म्युजिक भिडियोसँगै हरर सिनेमा **‘मम्मी’**मा समेत अभिनय गरेकी छन्।
बाल्यकालदेखि नै कलाकारिता तथा क्यामेराअगाडिको प्रस्तुतिप्रति रुचि राख्दै आएकी गुराँसले आफ्नो रुचिलाई करियरमा रूपान्तरण गर्ने उद्देश्यले निरन्तर प्रशिक्षण र मेहनत गर्दै आएकी छन्।
निर्देशक चौहानका अनुसार गुराँस सिनेमाकी एक्ली अभिनेत्री हुन्। कथाको पात्रअनुसार उपयुक्त देखिएपछि निर्माण टिमले बुधबार उनलाई अनुबन्धित गरेको हो।
यसअघि सिनेमाको मुख्य भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात अनुबन्धित भइसकेका छन्। निर्माण टिमले अझै एक जना अभिनेताको खोजी गरिरहेको छ। उक्त अभिनेता फाइनल भएपछि सिनेमाको मुख्य कलाकारको लाइनअप पूरा हुने निर्देशक चौहानले बताएका छन्।
स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने ‘ल्याङ्ग ल्याङ्ग’ले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा प्रस्तुत गर्नेछ। युवापुस्ताको मनोविज्ञान तथा समसामयिक विषयलाई केन्द्रमा राखेर सिनेमा निर्माण गर्न लागिएको निर्देशक चौहानले बताए।
सिनेमाको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ। नेपाली युवापुस्ताले साथीभाइबीच कुनै विषयमा हुने दबाब वा मानसिक तनावलाई जनाउन प्रयोग गर्ने ‘ल्याङ्ग ल्याङ्ग’ शब्दलाई नै सिनेमाको शीर्षक बनाइएको निर्माण पक्षको भनाइ छ। सिनेमाले युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढावलाई पर्दामा उतार्नेछ।
गुराँस मुख्य अभिनेत्रीमा अनुबन्धित भएपछि उनकी आमा रिना ढकालले सामाजिक सञ्जालमार्फत भावुक प्रतिक्रिया दिएकी छन्। उनले छोरी सात महिनाकी हुँदादेखि नै आफूले नाटकमा सहभागी गराएको स्मरण गर्दै कलाकार बनाउने सपना बोकेको उल्लेख गरेकी छन्।
रिना ढकालले छोरीको अभिनय यात्रालाई सुरुवातका रूपमा लिँदै आगामी दिनमा पनि उनको हरेक कदममा साथ दिने बताएकी छन्।
भोलानाथ कटवालको लगानीमा निर्माण हुने ‘ल्याङ्ग ल्याङ्ग’ असोजको पहिलो साताबाट फ्लोरमा जाने तयारीमा छ। हाल सिनेमाको प्रि–प्रोडक्सनको काम तीव्र रूपमा भइरहेको छ। सिनेमाको कथा निर्देशक बलिराम चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा लेखेका हुन्।


