काठमाडौं । चर्चित गायक शिव परियार र गायिका समीक्षा अधिकारी अमेरिकाका विभिन्न सहरमा सांगीतिक प्रस्तुति दिने भएका छन्। उनीहरूसँगै चर्चित नेपाली ब्लुज ब्यान्ड मुक्ति एन्ड रिभाइभलले पनि अमेरिकाका विभिन्न सहरमा विशेष सांगीतिक यात्रा गर्ने भएको छ।
थ्रीई इन्टरटेनमेन्ट, युएसएको आयोजनामा यी दुई छुट्टाछुट्टै कार्यक्रम आयोजना हुन लागेका हुन्। आयोजकका अनुसार कार्यक्रममार्फत अमेरिकामा रहेका नेपाली समुदायलाई नेपाली संगीत, कला तथा संस्कृतिसँग जोड्दै मनोरञ्जन प्रदान गर्ने उद्देश्य राखिएको छ।
‘दशैं–तिहार धमाका यूएसए टुर २०२६’ अन्तर्गत शिव परियार र समीक्षा अधिकारीले करिब २० वटा सांगीतिक कार्यक्रममा प्रस्तुति दिनेछन्। उनीहरूको टुर आगामी सेप्टेम्बर २५ मा अस्टिनबाट सुरु हुनेछ। त्यसपछि सेप्टेम्बर २६ मा डलासमा कार्यक्रम हुनेछ।
त्यसैगरी अक्टोबर २ मा कोलम्बस, ३ मा एक्रोन, ९ मा ह्यारिसबर्ग, १० मा ल्यान्कास्टर, ११ मा एशबर्न, १७ मा मिलवाकी र १८ मा सिकागोमा कार्यक्रम तय गरिएको छ। अक्टोबर २४ मा चार्लोट, २५ मा र्याले, ३० मा नेब्रास्का, ३१ मा न्युयोर्क तथा नोभेम्बर १ मा ब्राडफोर्ड र हार्टफोर्डमा पनि प्रस्तुति रहनेछ। फ्लोरिडासहित केही अन्य सहरमा कार्यक्रम थपिन सक्ने आयोजकले जनाएको छ।
यता, आफ्नो ३० वर्षे नेपाली ब्लुज यात्राको उत्सव मनाउँदै मुक्ति एन्ड रिभाइभलले पनि अमेरिकामा विशेष सांगीतिक यात्रा गर्न लागेको छ। ‘म्युजिकल रिभाइभल–साधना भण्डारी ३०औँ वार्षिकोत्सव टुर’ नाम दिइएको यस यात्राको नारा ‘द लिगेसी, द ब्लुज, द रिभाइभल’ रहेको छ।
ब्यान्डले सेप्टेम्बर १२ मा डलास, १८ मा ह्युस्टन, १९ मा सेन्ट लुइस तथा २६ मा न्यु ह्याम्पसायरमा प्रस्तुति दिनेछ। अक्टोबर २ मा चार्लोट, ९ मा न्युयोर्क र ११ मा डीटी फेस्टमा पनि ब्यान्डको प्रस्तुति रहनेछ। अक्टोबर १७ र १८ का कार्यक्रमको स्थान भने पछि सार्वजनिक गरिने बताइएको छ।
नेपाली चाडपर्वको माहोल अमेरिकामा रहेका नेपाली समुदायमाझ पुर्याउनुका साथै नेपाली कला तथा संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमबाट उठेको केही रकम गरिब तथा विपन्न बालबालिकाको छात्रवृत्तिमा समेत सहयोग गरिने बताइएको छ।
कार्यक्रमका संयोजक प्रयास भुसाल हुन्। अमेरिकाका संस्थापक अञ्जना बुढाथोकी सापकोटा र सुरेश सापकोटा तथा बजार व्यवस्थापन आदित्य लाखेको रहेको छ। कार्यक्रमको प्रायोजकमा अमेरिकाको ओनेस्ट रियलस्टेट रहेको छ।
थ्रीई इन्टरटेनमेन्टले यसअघि महेश–अस्मिता, ‘कमेडी च्याम्पियन’, चलचित्र ‘महाजात्रा’लगायतका टिमसँग सहकार्य गर्दै दर्जनौँ कार्यक्रम आयोजना गरिसकेको छ। करिब दुई दशकदेखि अमेरिकामा नेपाली समुदाय लक्षित सांस्कृतिक कार्यक्रम, कलाकारको टुर तथा विभिन्न उत्सव आयोजना गर्दै आएको आयोजकले जनाएको छ।


