काठमाडौं । भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको क्राइम थ्रिलर तथा पारिवारिक कथावस्तुमा आधारित चलचित्र ‘मास्टर्नी’ ले दर्शकमाझ विशेष बम्पर अफर सार्वजनिक गरेको छ। निर्माण टिमका अनुसार भदौ ३ देखि ९ गतेसम्म खल्ती एपमार्फत चलचित्रको टिकट खरिद गर्ने दर्शकमध्ये एक जना भाग्यशाली विजेताले इलेक्ट्रिक स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन्।
“टिकट काट्नुहोस्, चलचित्र हेर्नुहोस् र स्कुटर जित्ने मौका पाउनुहोस्” भन्ने अभियानसहित ल्याइएको यो अफरले दर्शकको आकर्षण थप्ने विश्वास निर्माण पक्षले गरेको छ।
यसअघि सार्वजनिक गरिएको चलचित्रको ट्रेलर, टिजर तथा गीत ‘गुराँस फुल्दा’ ले सकारात्मक प्रतिक्रिया बटुलिरहेका छन्। प्रचार–प्रसारमा सक्रिय रहेको निर्माण टिम दर्शकबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले थप हौसिएको छ।
यसैबीच, केन्द्रीय चलचित्र जाँच समितिले ‘मास्टर्नी’लाई ‘एडल्ट’ (A) सर्टिफिकेट प्रदान गरेको छ। अब यो चलचित्र १६ वर्षभन्दा माथिका दर्शकले मात्र हलमा हेर्न पाउनेछन्।
आयंका फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापालगायत कलाकारहरूको अभिनय रहेको छ।
सुवेन्दु घोष निर्देशित चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन्। सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार कार्यकारी निर्माताका रूपमा आबद्ध छन्।
चलचित्रको कथा प्रियंका कार्कीको रहेको छ भने पटकथा शान बस्नेतले लेखेका हुन्। संवाद लेखनमा प्रियंका र शानको सहकार्य रहेको छ। युवराज इन्दोरियाको छायांकन, राजा सिंह सिदुको सम्पादन, रोहित शाक्यको संगीत तथा त्रिशाला गुरुङको स्वर रहेको चलचित्रको पोस्टर डिजाइन र पब्लिसिटीको जिम्मेवारी रोयल भीमसेन नेतृत्वको ट्राइडेन्ट कन्सेप्ट टिमले सम्हालेको छ।
बहुप्रतीक्षित चलचित्र ‘मास्टर्नी’ को वितरण नेपालभर आरआर फिल्म्स ले गर्नेछ।


