काठमाडौं । सञ्जय राईको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘एक्का मिस्सी बादशाह’ले दुई मुख्य पुरुष कलाकारका लागि अडिसन आह्वान गरेको छ। निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै चलचित्रमा अभिनय गर्न इच्छुक कलाकारबाट आवेदन मागेको हो।
चलचित्रमा अभिनेत्री साम्राज्ञी आरएल शाह मुख्य भूमिकामा यसअघि नै अनुबन्धित भइसकेकी छन्। उनले ‘आश’ पात्रको भूमिका निर्वाह गर्नेछिन्। अब उनकै अपोजिटमा देखिने ‘कृष’ र ‘अर्जुन’ पात्रका लागि निर्माण टिमले कलाकार खोजिरहेको छ।
दुवै पात्रमा जीवन्त अभिनय, भावनात्मक गहिराइ र वास्तविकता प्रस्तुत गर्न सक्ने कलाकारलाई प्राथमिकता दिइने निर्माण पक्षले जनाएको छ। २५ देखि ३५ वर्ष उमेर समूहका पुरुष कलाकारले अडिसनमा सहभागी हुन सक्नेछन्।
‘कृष’ अपेक्षाको भारी बोकेर हुर्किए पनि आफूलाई कुनै निश्चित सीमाभित्र राख्न नचाहने पात्र हो भने ‘अर्जुन’ जिम्मेवारीबोधका साथ दबाबमा काम गर्ने र सीमाभन्दा बाहिर सोच्ने चरित्रका रूपमा प्रस्तुत हुने बताइएको छ।
इच्छुक कलाकारले पोस्टरमा रहेको क्यूआर कोडमार्फत आवेदन दिन सक्नेछन्। अडिसन भिडियोसमेत तोकिएको प्रक्रियाअनुसार बुझाउनुपर्नेछ। आवेदनको अन्तिम मिति अगस्ट ३०, २०२६ अर्थात् भदौ १४ गतेसम्म तोकिएको छ।
मोहिनीदेवी राईको प्रस्तुतिमा बन्न लागेको चलचित्र युवापुस्ताको कथामा आधारित हुनेछ। सञ्जय राईले गत साउन ९ गते काठमाडौंमा आयोजित कार्यक्रममार्फत चलचित्रको औपचारिक घोषणा गरेका थिए। चलचित्रमा उनकै लगानी रहनेछ।
सुदीप्ता कार्यकारी निर्माता, एलोन गुरुङ लाइन प्रोड्युसर र सुपथ श्रेष्ठ प्रोजेक्ट सुपरभाइजर छन्। आगामी फागुनदेखि छायांकन सुरु गर्ने तयारी रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन रहनेछ।
निकेश कार्की र रोमन बज्राचार्य संगीत निर्माता, आशिम रानाभाट स्टाइलिस्ट तथा सुनिल शिवभक्ति सम्पादकका रूपमा चलचित्रमा आबद्ध छन्।


