काठमाडौं । भारतीय गायक आहुजा पहिलोपटक नेपाल आएका छन्। ठमेलस्थित क्लब नोभाको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना हुने विशेष सांगीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आएका हुन्।
आहुजाले बुधबार ठमेलस्थित क्लब नोभामा आयोजना हुने कार्यक्रममा आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्। कार्यक्रममा उनले ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ लगायत लोकप्रिय गीत प्रस्तुत गर्नेछन्।
‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको सांगीतिक करिअरको चर्चित गीत हो, जुन उनको ‘खत’ एल्बममा समावेश छ। यसबाहेक ‘तू ही हूँ’, ‘खुद से मोहब्बत’, ‘इंतज़ार’, ‘मेरे हो तुम’ र ‘चले गए’ लगायत उनका गीत पनि लोकप्रिय छन्।
नेपाल आएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आहुजाले नेपाली दर्शकमाझ प्रस्तुति दिन आफू निकै उत्साहित रहेको बताए। उनले नेपाल पहिलोपटक आएको र यहाँको संस्कृति तथा संस्कार आफूलाई मन परेको उल्लेख गरे।
नेपाली संगीतप्रति समेत रुचि रहेको बताउँदै उनले नेपाली गीत सुन्ने गरेको र नेपाली संगीतकारबाट गीत गाउने प्रस्ताव आए आफू सहकार्य गर्न तयार रहेको बताए।
तीन दिन नेपाल बस्ने आहुजाले यस अवधिमा काठमाडौंका धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ।
क्लब नोभाको पहिलो वार्षिकोत्सव बुधबार राति ९ बजेबाट सुरु हुनेछ। क्लबका संस्थापक विशाल तुलाचनका अनुसार वार्षिकोत्सव विशेष कार्यक्रममा आमन्त्रित पाहुनालाई प्राथमिकता दिइएको छ। उनका अनुसार करिब ९० प्रतिशत स्थान आमन्त्रित पाहुनाका लागि र १० प्रतिशत स्थान टिकटमार्फत प्रवेश गर्ने दर्शकका लागि छुट्याइएको छ।
वार्षिकोत्सवको मुख्य आकर्षणका रूपमा गायक आहुजाको एकल सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।


