काठमाडौँ । उडान स्टुडियोको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र ‘आशा’को छायांकन सम्पन्न भएको छ। एक महिनाको निर्धारित सेड्युलमा चलचित्रको छायांकन काठमाडौँ उपत्यका, नमोबुद्ध र धुलिखेल आसपासका क्षेत्रमा गरिएको हो।
निर्मात्री शर्मिला थापाले योजना बनाएअनुसार नै छायांकन पूरा भएको जानकारी दिइन्। कलाकार तथा प्राविधिक टोलीको मेहनतले सोचेभन्दा राम्रो काम गर्न सफल भएको उनको भनाइ छ। अब चलचित्र पोस्ट–प्रोडक्सनमा प्रवेश गर्नेछ।
छायांकन सम्पन्न भएको अवसरमा निर्मात्री थापाले चलचित्रका प्राविधिक अर्जुन घिमिरेलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेकी छन्। ‘आशा’मा स्पोटब्वाईका रूपमा कार्यरत घिमिरेकी श्रीमती ब्लड क्यान्सरबाट पीडित रहेको जानकारी पाएपछि उपचारका लागि उक्त रकम प्रदान गरिएको हो।
राजिव गुरुङको कथा तथा निर्देशनमा बनेको चलचित्रमा शुशांक मैनाली, महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी तथा बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारीलगायत कलाकारको अभिनय रहेको छ।
निर्देशक गुरुङका अनुसार ‘आशा’ नेपालीपन बोकेको पारिवारिक कथामा आधारित छ। परिवारसम्म पुग्ने मनछुने कथा दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको उनले बताए।
सहलेखक रामकुमार श्रेष्ठ रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, युग भुसाल र समीर खरेलको संगीत, किशोर आचार्यको साउन्ड डिजाइन तथा लोकेश बज्राचार्यको सम्पादन रहेको छ।
चलचित्र माघेसंक्रान्तिको अवसर पारेर आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउनेछ। ‘आशा’लाई रीच इन्टरटेनमेन्टले वितरण गर्नेछ।


