काठमाडौं । विशेष सांगीतिक प्रस्तुतिका लागि कलाकार विनय लश्करी आफ्नो टोलीसहित बिहीबार काठमाडौं आइपुगेका छन्। उनलाई एल एन्ड एन एजेन्सीका निर्देशक नितेन कायस्थ, एभेन्टोज नेपालका निर्देशक डेभिल सिंह राजपुतसहित आयोजक टोलीले विमानस्थलमा स्वागत गरेको हो।
लश्करीको विशेष कार्यक्रम ‘लश्करी लाइभ इन नेपाल’ शुक्रबार अर्थात् २१ अगस्ट २०२६ मा ठमेलस्थित ओम्निया द क्लबमा आयोजना हुँदैछ।
ऊर्जावान सांगीतिक प्रस्तुतिका कारण युवापुस्तामाझ लोकप्रिय लश्करीले कार्यक्रममा आफ्ना चर्चित गीतसँगै विशेष प्रस्तुति दिने आयोजकले जनाएको छ। उनको नेपाल आगमनसँगै कार्यक्रमलाई लिएर नेपाली संगीतप्रेमी तथा युवामाझ उत्साह बढेको छ।
कलाकारसहितको टोली नेपाल आइसकेकाले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षले जनाएको छ। ठमेलमा आयोजना हुने यो कार्यक्रम नेपाली दर्शकका लागि विशेष सांगीतिक साँझ बन्ने अपेक्षा गरिएको छ।


