काठमाडौं । गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डियर काव्या’को औपचारिक घोषणा गरिएको छ। बिहीबार बिजेश्वरीस्थित होटल बज्रमा आयोजित कार्यक्रममा ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो।
चलचित्रमा उपासना सिंह ठकुरी र बिक्की समशेर खड्का मुख्य भूमिकामा रहनेछन्। थिएटरका विद्यार्थी बिक्कीका लागि ‘डियर काव्या’ डेब्यु चलचित्र हुनेछ। सार्वजनिक पोस्टरमा उपासना र बिक्कीलाई रोमान्टिक अवतारमा देखाइएको छ भने पृष्ठभूमिमा नेपालगन्ज शहर र कर्णाली पुललाई प्रस्तुत गरिएको छ।

श्रद्धा प्रसाईंको निर्देशनमा बन्ने चलचित्र उनका लागि दोस्रो निर्देशकीय प्रोजेक्ट हो। यसअघि उनले निर्देशन गरेको ‘ककाकिकी’ प्रदर्शनको तयारीमा छ। ‘डियर काव्या’को छायांकन आगामी मंसिरबाट सुरु गर्ने तयारी निर्माण पक्षको छ।
चलचित्रमा गौरी मल्ल, तृप्ति नाडकर, अनुप बराल, सन्तोष थापा र खड्गबहादुर पुन मगरलगायत कलाकारको समेत अभिनय रहनेछ।
देवी सिंह र हेमकुमारी भेटुवाल निर्माता रहेको चलचित्रमा दिया मास्के र सन्दीप दंगोल कार्यकारी निर्माता तथा अर्जुन पौडेल लाइन प्रोड्युसर छन्। रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले पोस्टर तथा पब्लिसिटी डिजाइन गर्नेछन् भने प्रिया कार्कीले मेकअप सम्हाल्नेछिन्। चलचित्रको मिडिया कोअर्डिनेटरमा चलचित्र पत्रकार गोपिकृष्ण चापागाईं छन्।

निर्देशक प्रसाईंले दोस्रो चलचित्र निर्देशन गर्न पाउँदा उत्साहित रहेको बताउँदै ‘डियर काव्या’लाई राम्रो बनाउन आफूहरूले सक्दो मेहनत गर्ने बताइन्।
कार्यकारी निर्माता दिया मास्केले निर्माताका रूपमा आफ्नो पहिलो यात्रा सुरु गर्न लागेको बताउँदै चलचित्र निर्माण आफ्ना लागि नयाँ अनुभव भएको उल्लेख गरिन्।
डेब्यु अभिनेता बिक्कीले आफूलाई विश्वास गरेर चलचित्रमा अवसर दिएकोमा निर्माण टिमप्रति आभार व्यक्त गरे। उनले दिया मास्के र अनुप बराललाई आफ्नो अभिनय गुरुका रूपमा उल्लेख गर्दै उनीहरूको विश्वासले चलचित्रमा काम गर्ने अवसर प्राप्त भएको बताए।
उपासना सिंह ठकुरीले पनि चलचित्रका लागि आफूलाई छनोट गरेकोमा निर्माण टिमलाई धन्यवाद दिँदै महिला निर्देशकसँग पहिलोपटक काम गर्न लागेकाले उत्साहित रहेको बताइन्।
निर्माण पक्षका अनुसार चलचित्रको कथावस्तु तथा अन्य प्राविधिक पक्षबारे थप जानकारी आगामी दिनमा सार्वजनिक गरिनेछ।


