काठमाडौं । ‘कबड्डी’ सिरिजसहित ‘पुरानो डुङ्गा’, ‘झुम्की’, ‘घामपानी’, ‘मिस्टर झोले’, ‘आप्पा’ र ‘दिमाग खराब’जस्ता चर्चित फिल्म निर्माण गरिसकेको सिनेमा आर्टले नयाँ फिल्मको तयारी थालेको छ।
निर्माण कम्पनीले नयाँ प्रोजेक्टको निर्देशनका लागि सुयोग गुरुङलाई अनुबन्ध गरेको छ। निर्माता रौनक विक्रम कडेलका अनुसार गुरुङसँग निर्देशनका लागि सम्झौता भइसकेको हो।
फिल्मको मुख्य भूमिकामा अनमोल केसी र जसिता गुरुङ रहने भएका छन्। निर्माण पक्षले बिहीबार निर्देशक गुरुङ, अभिनेता केसी र अभिनेत्री गुरुङसँग औपचारिक सम्झौता गरेको हो। यससँगै अनमोल र जसिताको जोडी पुनः पर्दामा फर्किने भएको छ।
फिल्मको शीर्षक भने हालसम्म सार्वजनिक गरिएको छैन। निर्माता कडेलका अनुसार शीर्षकसहित फिल्मको कथा र अन्य विवरण क्रमशः सार्वजनिक गरिनेछ। फिल्मको छायांकन आगामी मंसिरबाट सुरु गर्ने तयारी छ।
अन्य कलाकार छनोटसँगै फिल्मको प्रि–प्रोडक्सनको काम पनि अघि बढिरहेको निर्माण पक्षले जनाएको छ। कथा, विषयवस्तु र प्राविधिक टोलीका विषयमा भने निर्माण टिमले अहिले कुनै जानकारी सार्वजनिक गरेको छैन।
सुयोग गुरुङको निर्देशनमा अनमोल र जसिताको जोडी रहने भएपछि फिल्म घोषणा हुनुअघि नै चर्चामा आएको छ। ‘ए मेरो हजुर ५’पछि अनमोल सिनेमा आर्टको यही नयाँ प्रोजेक्टमा व्यस्त हुनेछन्।


