काठमाडौं । निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन्। अञ्जनाको प्रवेशसँगै चलचित्रको स्टारकास्ट थप बलियो बनेको निर्माण पक्षले जनाएको छ।
यसअघि नै चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बराल जोडिइसकेका छन्। व्यस्त तथा चर्चित अभिनेत्री अञ्जनाको प्रवेशले चलचित्रप्रति दर्शकको चासो थप बढ्ने अपेक्षा गरिएको छ।
निर्देशक चौधरीले कथाको माग र दर्शकको रोजाइलाई ध्यानमा राख्दै कलाकार छनोट गरिएको बताए। “सिनेमाको लाइनअपलाई बलियो बनाउने प्रयासस्वरूप हामीले अञ्जनालाई अनुबन्ध गरेका हौँ,” उनले भने, “दर्शकको रोजाइमा रहेका र कथाले मागेका कलाकारलाई लिने क्रम अझै जारी छ।”
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको ‘द राइज अफ साम्राज्य’ मल्टिस्टारर चलचित्रका रूपमा तयार हुँदैछ। उपन्यासकार बुद्धिसागरले चलचित्रको कथा तथा पटकथा लेखेका छन्। निर्देशक चौधरीका अनुसार चलचित्र ‘एपिक एक्सन ड्रामा’को शैलीमा निर्माण हुनेछ।
यसपटक ठूलो क्यानभासमा चलचित्र निर्माण गर्ने तयारीमा रहेका निर्देशक चौधरीले नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र बनाउने योजना अघि सारेका छन्।
चलचित्रको छायांकन आगामी सातादेखि सुरु हुने बताइएको छ। निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ।
प्रवेश चौधरी र निला देव निर्माता रहेको चलचित्रमा विश्वास बस्नेत ‘बेन’ को–प्रोड्युसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्। मानकृष्ण महर्जनको डीओपी रहने चलचित्रमा श्री श्रेष्ठ एक्सन निर्देशकका रूपमा जोडिएका छन्।
चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटी पार्टनर टौवा स्टुडियो र वितरक डीसीएन रहेका छन्।


