काठमाडौं । नेपाली चलचित्र ‘गौँथली’ले बक्स अफिसमा उत्साहजनक व्यापार गर्दै २५ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ। चलचित्र विकास बोर्डको पछिल्लो बक्स अफिस रिपोर्टअनुसार आइतबार राति १० बजेसम्म ‘गौँथली’ले २५ करोड ५ लाख ६५ हजार ७७२ रुपैयाँ ग्रस कमाएको हो।
रिपोर्टअनुसार चलचित्रका ९ लाख ९ हजार ४२६ टिकट बिक्री भइसकेका छन्। साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौँथली’लाई डा. कपिल रिजालले निर्देशन गरेका हुन्। उनी चर्चित गीतकार तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा हुन्।
परिवार, सम्बन्ध र आत्मीयताको भावनालाई केन्द्रमा राखिएको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार पारेका हुन्।
‘गौँथली’लाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले वितरण गरेका हुन्। प्रदर्शनको सुरुवातदेखि नै दर्शकको राम्रो साथ पाएको चलचित्रले २५ करोडको आँकडा पार गर्नुले यसको व्यावसायिक सफलता थप बलियो भएको देखाएको छ।


