काठमाडौं । चलचित्र ‘पार्वती’को प्रदर्शनबाट प्राप्त हुने पहिलो दिनको सम्पूर्ण कलेक्सन रसुवा बाढीपीडितको सहयोगमा प्रदान गरिने भएको छ।
निर्देशक तथा अभिनेत्री नीता ढुंगानाले देश विपद्को चपेटामा परिरहेका बेला चलचित्रको पहिलो दिनको आम्दानी पीडित परिवारका लागि सहयोग गर्ने निर्णय गरिएको बताएकी छन्।
शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको ‘पार्वती’को प्रदर्शन मिति अन्तिम समयमा सार्न सम्भव नभएकाले चलचित्रलाई निर्धारित समयमै प्रदर्शन गर्ने र त्यसबाट प्राप्त पहिलो दिनको आम्दानी सामाजिक सेवामा लगाउने निर्माणपक्षको निर्णय हो।
अटिजम भएकी महिलाको जीवनकथा तथा दिदी–भाइबीचको सम्बन्ध, प्रेम र संघर्षलाई प्रस्तुत गर्ने चलचित्रमा नीता ढुंगाना र अशोक दर्जी मुख्य भूमिकामा छन्।
चलचित्रको कथा तथा निर्देशन नीताकै हो। नीताले अटिजम भएकी महिलाको भूमिका निर्वाह गरेकी छन् भने अशोक दर्जी उनका भाइको भूमिकामा छन्।
चलचित्रमा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।
निर्माणपक्षले चलचित्रको पहिलो दिनको कमाइ बाढीपीडितका लागि समर्पित गर्ने निर्णयलाई विपद्को समयमा आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोगका रूपमा लिएको जनाएको छ।


