काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रदर्शनरत चलचित्र ‘पार्वती’को निर्माण टिमले ११ लाख ३ हजार २ सय ७० रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेको छ।
निर्देशक नीता ढुंगाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शंकर पाण्डे, वितरक करण श्रेष्ठ तथा वरिष्ठ पत्रकार प्रकाश सुवेदीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेका हुन्।
शुक्रबार देशभरको घरेलु बक्स अफिसमा चलचित्रले गरेको २५ लाख ९३ हजार रुपैयाँ ग्रस कलेक्सनमध्ये निर्माताको भागमा आउने ११ लाख ३ हजार २ सय ७० रुपैयाँ बाढीपीडितका लागि छुट्याइएको निर्माण पक्षले जनाएको छ।
निर्देशक नीता ढुंगानाले विपद्को समयमा पीडित परिवारलाई आफ्नो तर्फबाट सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सरकारी कोषमा जम्मा गरिएको बताइन्। उनले चलचित्र प्रदर्शनमा रहुन्जेल हुने आम्दानीको ५ प्रतिशत बाढीपीडितका लागि सहयोग गर्ने निर्णयसमेत गरिएको जानकारी दिइन्।
निर्माता हरिहर अधिकारीका अनुसार पहिलो दिनको रकम कोषमा प्रदान गर्नुका साथै छुट्टै रूपमा कोषको क्यूआरमार्फत पनि सहयोग गरिएको छ।
यसैगरी चलचित्रका अभिनेता तथा बालगायक अशोक दर्जीले पनि बाढीपीडितका लागि २५ हजार रुपैयाँ कोषमा जम्मा गरेका छन्।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि त्यसको प्रभाव चलचित्रको व्यापारमा समेत परेको निर्माण पक्षले जनाएको छ। वितरक करण श्रेष्ठका अनुसार चलचित्रले दोस्रो दिन शनिबार देशभरबाट करिब ४२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। पछिल्ला दिनको आधिकारिक कलेक्सन भने सार्वजनिक हुन बाँकी छ।
चलचित्रलाई सोमबार पनि देशभरका हलमा उल्लेख्य शो दिइएको छ भने मंगलबारका लागि देशभर १ सयभन्दा बढी शो रहेको निर्माण पक्षले जनाएको छ।
नीता ढुंगानाको मुख्य भूमिका रहेको ‘पार्वती’मा अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दीप्त प्रकाश अधिकारी र राधिका कँडेललगायत कलाकारको अभिनय रहेको छ।
नीता ढुंगानाको कथा तथा पटकथा, शिवम् अधिकारीको लेखन र शंकर पाण्डेको कार्यकारी निर्माण रहेको चलचित्रका निर्माता हरिहर अधिकारी हुन्। चलचित्रको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले गरेका छन्।


