काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि चलचित्र ‘बा : एक योद्धा’को पूर्वनिर्धारित प्रदर्शन स्थगित गरिएको छ।
आर्टिस्टिक इन्टरटेन्मेन्टले प्रेस विज्ञप्ति जारी गर्दै आगामी भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने तय भएको चलचित्रको प्रदर्शन हाललाई स्थगित गरी नयाँ मिति मंसिर २४ गते बिहीबार तोकिएको जनाएको हो।
निर्माण पक्षले देशको एक भूगोल प्राकृतिक विपत्तिमा परेका बेला पीडित परिवारको दुःख र जनमानसको संवेदनालाई मध्यनजर गर्दै सामाजिक तथा पारिवारिक कथावस्तु बोकेको चलचित्र प्रदर्शन गर्नु उचित नठानेको जनाएको छ।
विज्ञप्तिमा भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत तथा उद्धारको पर्खाइमा रहेका नागरिकको शीघ्र उद्धारको कामना गरिएको छ।
निर्माता वसन्त लम्सालका अनुसार ‘बा : एक योद्धा’ परिवारको तर्फबाट २ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
निर्माण पक्षले प्रदर्शन मिति स्थगित गर्दा दर्शक, प्रदर्शक, वितरक तथा सञ्चारकर्मीमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ। साथै, विपद्को यस घडीमा राहत तथा उद्धार कार्यमा आ–आफ्नो तर्फबाट सहयोग गर्न देश–विदेशमा रहेका नेपालीलाई आग्रह गरेको छ।



