काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि चलचित्र क्षेत्रबाट आर्थिक सहायता जुट्ने क्रम जारी छ। यही क्रममा चलचित्र ‘गौँथली’का निर्माताले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १४ लाख रुपैयाँ सहयोग गरेका छन्।
बिहीबार चलचित्रका निर्माता डा. कपिल रिजाल र सुमन गिरीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १४ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरणपछि निर्माता सुमन गिरीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताएका छन्। चलचित्रको तर्फबाट गरिएको सहयोगलाई उनले विपत्तिमा परेका नागरिकप्रतिको माया, सद्भाव र ऐक्यबद्धताको अभिव्यक्ति भएको उल्लेख गरेका छन्।
यसैबीच, साउन १ गतेदेखि प्रदर्शनमा रहेको ‘गौँथली’ले बक्स अफिसमा पनि उल्लेख्य सफलता हासिल गरिरहेको छ। चलचित्र विकास बोर्डको भदौ १४ गतेसम्मको तथ्यांकअनुसार फिल्मले २५ करोड ६८ लाख रुपैयाँ ग्रस कमाइसकेको छ। सो अवधिसम्म ९ लाख ३१ हजार ६२७ टिकट बिक्री भएको तथ्यांकमा उल्लेख छ।
फिल्मले यही शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गर्दैछ। हालसम्मको व्यापारका आधारमा ‘गौँथली’ सर्वाधिक कमाइ गर्ने नेपाली फिल्ममध्ये दोस्रो स्थानमा रहेको बताइएको छ।
डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली र सीतादेवी तिमिल्सिनालगायतका कलाकारको अभिनय छ।
शिक्षाको महत्त्व र श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘गौँथली’ले सामाजिक तथा पारिवारिक विषयलाई कथामार्फत प्रस्तुत गरेको छ।


